३०औं वर्षमा बीवाईडीले पुर्यायो १ करोड ईभी
काठमाडौं । न्यु इनर्जी भेइकल्स (एनईभी) र पावर ब्याट्रीको क्षेत्रमा विश्वकै प्रमुख निर्माता कम्पनी बीवाईडीले आफ्नो ३०औं वार्षिकोत्सवको विशेष अवसरमा आफ्नो १ करोडौं एनईभी सार्वजनिक गरेको छ । यससँगै अटो बजारमा बीवाईडीका सवारीहरुको संख्या १ करोड पुगेको छ ।
चीनको सेन्झेन–शान्वेई स्पेसल को–अपरेसन जोनमा श्याओमो प्रोडक्सन बेसमा कम्पनीले उक्त सवारी सार्वजनिक गरेको हो । बीवाईडीले आफ्नो १ करोडौं सवारी साधनको रुपमा डेन्जा जी९ सार्वजनिक गरेको हो । उक्त गाडी गेम साइन्सका फाउन्डर र सीईओ तथा ब्ल्याक मिथःवुकोङ गेमका भिजनर फेङ जीलाई हस्तान्तरण गरियो ।
यस अवसरमा बीवाईडीका अध्यक्ष वाङ चुआन्फुले सम्बोधन गर्दै ३० वर्ष पहिले २० कर्मचारीबाट सुरुवात भएको कम्पनी हाल विश्वभर करिब १० लाख कर्मचारी सहितको बहुराष्ट्रिय कम्पनीमा रुपान्तरण भएकोमा खुसी व्यक्त गरे । टेक्नोलोजिकल इनोभेसनमा कम्पनीको प्रतिबद्धता तथा मोबिलिटीको भविष्य निर्माणमा समेत कम्पनीले विशेष जोड दिएको उनले बताए ।
१ करोड न्यु इनर्जी भेइकल उत्पादन गर्ने पहिलो कम्पनी बन्न बीवाईडी सफल भएको छ । बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो । तर अर्को ५० लाख सवारी साधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भएको छ ।
आगामी दिनमा बीवाईडीले अटोमोटिभ सिस्टमका लागि इन्टेलिजेन्ट टेक्नोलोजीमा एआईलाई एकीकृत गर्न र ड्राइभिङ सिस्टम अपग्रेड गर्न १०० अर्ब युआन लगानी गर्ने घोषणा समेत गरेको छ ।
सन् १९९५ फेब्रुअरीमा स्थापना भएको बीवाईडी सुरुमा रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो। सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनी बन्यो ।
सन् २००३ मा जियान क्विनचुआन अटोमोटिभलाई प्राप्ति गरेर इन्धनबाट चल्ने सवारी साधन उत्पादनका साथ बीवाईडी अटोमोटिभ इन्डष्ट्रीमा प्रवेश गरेको थियो ।
सन् २००४ मा बीवाईडीले पहिलो कार उत्पादन गर्यो । ३१६ नाम दिइएको सो कारप्रति डिलरहरुले खासै चासो नराखेको कारण यसको उत्पादन नै रद्द गरियो ।
त्यसपछि सन् २००५ मा बीवाईडीले आफै उत्पादन गरेको पहिलो कारको रुपमा बीवाईडी एफ३ लन्च गरियो । सो कारप्रति ग्राहकको चासो बढ्दै गयो र मासिक रुपमा १० हजार युनिट भन्दा बढी बिक्री हुने पहिलो चाइनिज मोडल बन्यो ।
बीवाईडीले पहिलो इलेक्ट्रिक कार एफ३ई सन् २००८ मा सार्वजनिक गरेर औपचारिक रुपमा न्यु इनर्जी भेइकल बजारमा प्रवेश गर्यो । यसपछि सन् २०२० मा बीवाईडीले ब्लेड ब्याट्री लन्च ग-यो, जुन सेफ्टी, रेन्ज र चार्जिङ स्पिडमा निकै राम्रो भएकाले उत्साहजनक सफलतातर्फ अग्रसर रह्यो।
सन् २०२२ नोभेम्बर १६ अर्थात ठ्याक्कै तीन वर्ष पहिले बीवाईडीले ३० लाखौ एनईभीको रुपमा प्योर इलेक्ट्रिक बीवाईडी सिल सार्वजनिक गरेको थियो। त्यसैगरी ५० लाखौ एनईभी सन् २०२३ अगस्ट ९ मा सार्वजनिक गरिएको थियो भने क्रमिक रुपमा उत्पादन बढ्दै गएर यही वर्षको सेप्टेम्बरमा ९० लाखौ एनईभी उत्पादन भएको थियो । करिव दुई महिनाकै अवधिमा कम्पनीले फेरि १० लाख उत्पादन बढाएर १ करोडौं सवारी अर्थात एनईभी सार्वजनिक गरेको हो ।
बीवाईडीले सवारी साधन वाहेक ब्लेड ब्याट्री, डीएम हाइब्रिड सिस्टम, ई–प्ल्याटफर्म ३.० ईभो र डिसस सिस्टम जस्ता महत्वपूर्ण प्रविधिमा समेत प्रशस्तै लगानी गरेर उपलब्धि हासिल गरेको छ ।
बीवाईडीका सवारी साधनमा प्रयोग गरिने ७० प्रतिशत भन्दा बढी कम्पोनेन्ट समेत बीवाईडी आफैले उत्पादन गरेको हुन्छ । त्यसैगरी कार निर्यात गर्नका लागि आवश्यक सिपिङ सर्भिस समेत आफैले सञ्चालन गर्छ ।