दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गरिने
काठमाडौं । सोसल मिडियामा प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले बुधबार बिहान प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले प्रसाईंलाई मंगलबार उनकै निवासबाट पक्राउ गरेको थियो । प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुरमा उनलाई मुद्दा चलाउने तयारी गरेको छ ।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओली र उनी निकट व्यक्तिहरुले कम्बोडिया लगायत देशहरुमा अवैध रुपमा अर्बौं लगानी गरेको भन्दै एक भिडियो प्रसाईंले सार्वजनिक गरेका थिए ।
त्यसपछि नै प्रहरीले उनलाई पक्राउ गरेको हो । यद्यपि प्रसाईंले सार्वजनिक गरेको उक्त भिडियोमा प्रधानमन्त्रीको अवैब लगानी पुष्टि हुने पर्याप्त प्रमाण भने देखिँदैन ।
प्रसाईं यसअघि पनि प्रधानमन्त्रीसहितका नेताहरुविरुद्ध विवादित अभिव्यक्ति दिएपछि पक्राउ परेका थिए ।