युक्रेनले यसरी सम्झियो युद्धका १ हजार दिन



एजेन्सी । रुस-युक्रेन युद्धको १ हजार पुगेको दुखद् अवसरमा युक्रेनले मंगलबार रुसी क्षेत्रमा शक्तिशाली मिसाइल आक्रमण गरेको छ । रुसी फौजले भने ब्राएन्स्क क्षेत्रमा युक्रेनले आक्रमण गरेका ६ मध्ये ५ वटा मिसाइलहरु निस्तेज पारेको दाबी गरेको छ ।

साथै एउटा मिसाइलले केही क्षति पुर्‍याए पनि तुरुन्तै निभाइएको र त्यसबाट कुनै हताहत नभएको रुसले जनाएको । युक्रेनका अनुसार रुसको ११० किमी क्षेत्रभित्र अतिरिक्त विस्फोट गरेको थियो । तर युक्रेन फौजले कुन हतियार प्रयोग गरेको भनेर सार्वजनिक रुपमा खुलाएको छैन । तर युक्रेन सरकारको स्रोत र अमेरिकी अधिकारीहरुले अमेरिकी सैन्य सामरिक हतियार प्रयोग गरेको जनाएका छन् ।

रोयटर्समा प्रकाशित समाचार अनुसार अमेरिकी एक अधिकारीले गोलाबारुद आपूर्ति बिन्दुमा आक्रमण भएको तर रुसले ८ मध्ये २ वटा मिसाइललाई रोकेको जनाएका छन् । यसै साता अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकाले दिएको लामो दूरीको अमेरिकी रणनीतिक हतियार रुसमाथि प्रयोग गर्न अनुमति दिएका थिए ।

रुसी विदेशमन्त्री सर्जेइ लाभरोभले भने अमेरिकी रणनीतिक हतियारको प्रयोगलाई पश्चिमले द्वन्द्व बढाउन चाहेको स्पष्ट संकेत भएको प्रतिक्रिया दिएका छन् । र मस्कोले पनि ११० किमी रुसी क्षेत्रभित्र ब्राएन्स्कमा युक्रेनले अमेरिकी रणनीतिक हतियार प्रहार गरेको पुष्टि गरेको छ ।

दुई छिमेकी देशहरुबीच युद्ध सुरु भएको १ हजार दिन पुगेको अवसरमा युक्रेनले यस्तो आक्रमण गरेको हो । रुसी रक्षा मन्त्रालयले पनि हवाइ रक्षा युनिटले मंगलबार राति ९ देखि ११:५५ बजेसम्म ४२ वटा युक्रेनी ड्रोनलाई ध्वस्त पारेको जनाएको छ । तीमध्ये ब्राएन्स्क क्षेत्रमा ३२ वटा साथै पश्चिमी क्षेत्र र केन्द्रमा ८ वटा आक्रमण भएका थिए ।

यसैबीच अमेरिकी रक्षा मन्त्रालयले झन्डै १० करोड अमेरिकी डलरको सैन्य उपकरण र सेवाहरु विक्री गर्न अनुमति दिएको जनाएको छ । यससँगै डेनमार्कले भने युक्रेनको सशस्त्र उद्योगको विकासका लागि १३ करोड ८० लाख अमेरिकी डलर बराबरको अनुदान दिने भएको छ ।

यद्यपि अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका लागि अमेरिकी सहायताको आलोचना गर्दै आएका छन् । साथै उनले छिट्टै युद्ध अन्त्य गराउने दबी गरेका छन् । तर शान्ति वार्ताको स्वरुप कस्तो र कसरी हुन्छ भनेर व्याख्या गरेका छैनन् ।

त्यसो त, अमेरिकी निर्वाचनअघि उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग अमेरिकामा भेटेर वार्ता गरेका थिए । यस्तैमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफूहरुले अर्को वर्ष कूटनीतिक रुपमा युद्ध अन्त्य गर्न सबै कुरा गर्नुपर्ने बताएका छन् ।

यसैबीच युद्धको १ हजार दिन पुगेको अवसरमा मंगलबार साँझ युक्रेनको राजधानी किभमा दर्जनौं नागरिक र सैनिकहरु भेला भएर मैनबत्ती बालेर मृतक योद्धाहरुको सम्झनामा मौनधारण गरेका थिए । यस क्षणमा केही सहागीहरु भने रोइरहेका थिए ।

‘मेरो जीवन उलटपुलट भयो । मेरा लागि कुनै जीवन छैन । म केवल जित चाहन्छु र घर फर्कन चाहन्छु । म हाम्रो देशको रक्षाका लड्ने सबै मानिसहरुप्रति आभारी छु,’ मारिपोल सहरकी युलियाले भनिरहेकी थिइन् । मारिपोल सहर २०२२ मा रुसले सुरुमा कब्जा गरेको थियो।

संयुक्त राष्ट्रसंघका अनुसार युद्ध भएको १ हजार दिनको अवधिमा १२ हजार नागरिकहरु मारिनुका साथै झन्डै २७ हजार मानिस घाइते भइसकेका छन् । तीमध्ये २ हजार ४ सयभन्दा धेरै बालबालिकाहरु घाइते छन् ।

यस्तै युद्धका कारण ६० लाख युक्रेनीहरु विभिन्न देशमा शरणार्थीको रुपमा बाँचिरहेका छन् । रोयटर्सका अनुसार रुसले युक्रेनविरुद्ध ११ हजार उत्तर कोरियाली सैनिकहरु पनि तैनाथ गरेको छ । तीमध्ये केहीसँग कुर्स्कमा आफ्ना फौजहरुको भिडन्त भएको युक्रेनले जनाएको छ । साथै उत्तर कोरियाले १ लाख सैनिक युद्धमा पठाएको जेलेन्सकीले दाबी गरेका छन् ।


क्लिकमान्डु