४३ अर्ब लागतको मनाङ मर्स्याङदी हाइड्रोमा लगानी जुट्यो, ८०% चिनियाँ लगानी

शुक्रबार सम्झौता



काठमाडौं । चिनियाँ प्रत्यक्ष वैदेशिक लगानी रहने १३५ मेगावाटको मनाङ मर्स्याङदी जलविद्युत् आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) हुने भएको छ ।

शुक्रबार एक कार्यक्रमबीच फाइनान्सियल क्लोजर हुन लागेको हो । मनाङको मर्स्याङदी नदीमा पहिचान भएको आयोजना ३ चिनियाँ कम्पनीको लगानीमा फाइनान्सियल क्लोजर गर्न लागिएको हो ।

आयोजनामा बुटवल पावर कम्पनीको २० प्रतिशत र तीन चिनियाँ कम्पनीको ८० प्रतिशत लगानी हुनेछ । एससीआइजी इन्टरनेशनल लिमिटेड, छिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र क्युवाईसी इन्टरनेशनल लिमिटेडको ८० प्रतिशत सेयर हुनेछ । करिब ५० प्रतिशत सेयर स्वामित्व एससीआइजी इन्टरनेशनलको हुनेछ । लगानी जुटाउन चिनियाँ कम्पनी र बुटवल पावर कम्पनीको सयुक्त उपक्रम कम्पनी (जेभी) समेत निर्माण गरिएको छ ।

यो जलविद्युत् आयोजनाको आयोजना विकास सम्झौता (पीडीए) भइसकेको छ । २०७९ पुस पहिलो साता पीडीए भएको हो । पीडीएमा ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटुवाल र बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठले  पीडीएमा हस्ताक्षर गरेका थिए । निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा निर्माण गर्ने गरी पीडीए गरिएको हो । यो परियोजना निर्माणका लागि करिब ४३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

प्रस्तावित जलविद्युत् आयोजनाको २०७७ चैत ९ गते विद्युत् खरिद बिक्री सम्झौता  (पीपीए) भएको थियो । पीपीए र पीडीए भएसँगै यो परियोजनाको अघि बढाउन फाइनान्सियल क्लोजरको तयारी भएको थियो । तर चिनियाँ कम्पनीहरुले लगानीको वातावरण नभएको भन्दै धमाधम नेपालका जलविद्युत आयोजनाहरुबाट हात झिक्न थालेका थिए ।

१२०० मेगावाटको बुढीगण्डकीलगायत केहि परियोजना चिनियाँ कम्पनीसंग सरकारले खोस्यो । सरकारले चिनियाँ कम्पनीसंग खोसेर भारतीय कम्पनीहरुलाई जलविद्युत् परियोजना दिन थालेको थियो । नेकपा एमाले र कांग्रेसको सरकार बनेपछि चिनियाँहरुको चहल पहल नेपालमा बढेको छ ।

चीनसँग नेपालको विद्युत व्यापार सम्झौता भएको छैन । दुई देशबीच व्यापार गर्नका लागि क्रस बोर्डर प्रसारणलाइन पनि निर्माण भएको छैन । जिलोङ-केरुङ-रसुवागढी-चिलिमे २२० किलोभोल्ट प्रसारणलाइन निर्माण हुने चर्चामै सीमित छ ।

नेपालमा चिनियाँ लगानी र प्रविधि रोक्न भारतले हरसम्भव प्रयास गरिरहेको छ । सोही कारण ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली २ वर्षदेखि किन्न मानेको छैन । बिजुलीको आन्तरिक बजार नभएको र भारतले समेत नकिन्ने भएपछि चिनियाँ लगानी नेपालमा आउन नसकेको हो ।

तर केहि महिना पहिले सत्ता परिवर्तन भएसंगै नेपालमा चिनियाँहरुको चहलपहल बढेको छ । उनीहरुले धमाधम आफू संलग्न परियोजनाहरु निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन । बुटवल पावर कम्पनीको मर्स्याङदीका तीनवटा परियोजनामा लगानी गर्ने यी नै ३ चिनियाँ कम्पनीले समझदारी गरेका छन ।

१३९.२ मेगावाटको लोवर मनाङ मर्स्याङदी, ३२७ मेगावाटको अप्पर मर्स्याङदी-२ मा लगानी गर्न समझदारी गरेको हो । तीनवटा परियोजना गरी ६०१ मेगावाटको आयोजनामा चिनियाँ कम्पनीले लगानी गर्न लागेका हुन् ।

तेस्रो लगानी सम्मेलनका क्रममा अप्पर मर्स्याङदी-२ जलविद्युत् आयोजनाको पीडीए गर्ने योजना थियो । तर अन्तिम समयमा आएर लगानी बोर्डको कार्यालयले सम्झौता गरेन । सरकारी वार्ता टोलीले काम नसकेका कारण पीडीए हुन नसकेकको हो ।

सुरुमा सन् २०२५ मार्च महिनामा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तर भर्खर फाइनान्सियल क्लोजर गर्ने तयारी भएकाले केहि पछाडी धकेलिने निश्चित छ । निर्माण थालेको ४६ महिनामा सक्ने लक्ष्य राखिएको छ ।

यो जलविद्युत् आयोजन मनाङको मर्स्याङदी नदीमा निर्माण हुनेछ जुन अन्नपूर्ण संरक्षित क्षेत्रभित्र पर्छ । यो पिकिङ रन अफ दि रिभर (अर्ध-जलाशय) प्रकृतिको जलविद्युत् आयोजना हो । यो आयोजनाले वार्षिक ७६६.५९३ गिगावाट आवर उत्पादन गर्न सक्छ । ग्रस हेड ४३०.२० मिटर छ ।  हेडरेस ६.०७५ किमी निर्माण गर्नुपर्छ ।


दिनेश खड्का