प्रधानमन्त्रीबारे विवादित अभिव्यक्ति दिएपछि दुर्गा प्रसाईं पक्राउ



काठमाडौं । आफूलाई नागरिक अभियन्ताको दाबी गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

प्रधानमन्त्री केपी ओलीले विदेशमा अर्बौं लगानी गरेको भन्दै सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिएपछि उनी मंगलबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् ।

उनले कम्बोडियामा रहेका एक नेपालीसँग भिडियो कलमा कुरा गरेको र प्रधानमन्त्री केपी ओलीसहित उनी निकट उच्च अधिकारीहरुले कम्बोडियामा अर्बौं रुपैयाँ अवैध रुपमा लगानी गरेको प्रसाईंले आरोप लगाएका थिए ।

उक्त भिडियो सार्वजनिक भएको केही घन्टामै प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । यद्यपि प्रसाईंले विदेशमा लगानी गरेको विषयमा पर्याप्त प्रमाण भने पुष्टि गर्न सकेका छैनन् ।

कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भनेर उनले सामाजिक सञ्जालमा कागजात सार्वजनिक गरिएको छ । तर कागजातमा ओलीको नाम र हस्ताक्षर मिलेको देखिएको छैन ।

प्रसाईंले सामाजिक सञ्जालमा अफवाह फैलाएको भन्दै पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख दीपक थापाले बताएका छन् । उनलाई पक्राउ गरेर ब्युरोमा ल्याइएको थापाले बताएका छन् । प्रसाईंले सामाजिक सञ्जालमा फैलाएको अफवाहको अध्ययन गरेर उनलाई पक्राउ गरिएको थापाको भनाइ छ ।

२ महिनाअघि पनि प्रसाईंले प्रधानमन्त्री ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुविरुद्ध सामाजिक सञ्जालमार्फत गम्भीर आरोपहरु लगाएपछि पक्राउ परेका थिए ।


क्लिकमान्डु