सरुवा भएका कर्मचारीलाई सात दिनभित्र हाजिर गर्न सरकारको निर्देशन, इन्कार गरे कारबाही गरिने
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा गरिएका, पदस्थापना गरिएका तथा काज फिर्ता गरिएका कर्मचारीलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।
कर्मचारीहरुले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका बेला मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै सरुवा भएका कर्मचारीलाई हाजिर गराउने र उनीहरूको रमाना व्यवस्थापन गर्न सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेश र स्थानीय तहलाई निर्देशन जारी गरेको हो । साथै मन्त्रालयको निर्देशन अवज्ञा गर्ने कर्मचारीहरुलाई कडा विभागीय कारबाही गर्ने पनि चेतावनी दिइएको छ।
यसअन्तर्गत हालसम्म सरुवा भएका, पदस्थापन गरिएका, काज खटाइएका वा काज फिर्ता गरिएका कर्मचारीलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिई पठाउनुपर्ने मन्त्रालयले जनाएको छ । यस प्रक्रिया सात दिनभित्र पूरा गर्नु पर्ने र त्यसको जानकारी संघीय मामिला मन्त्रालयलाई तत्काल गराउनु पर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले कर्मचारी व्यवस्थापनलाई चुस्त बनाउन र सरुवा प्रक्रिया छिटो सम्पन्न गर्न यो व्यवस्था लागू गरेको जनाएको छ।
यस्तै समयसीमा भित्र हाजिर नगर्ने कर्मचारीहरूका लागि साबिकका कार्यालयहरूले किरिया बिदा, बिरामी बिदा, र प्रसूति बिदा बाहेकका अन्य कुनै पनि बिदा स्वीकृत नगर्न पनि मन्त्रालयले कडा निर्देशन दिएको छ । यस अनुसार सरुवा भएको स्थानमा तोकिएको समयमा हाजिर नभएमा अन्य बिदाहरू रोकिने मन्त्रालयको सूचनामा उल्लेख छ ।
यसैगरी समयमै रमाना नगर्ने कर्मचारीलाई सेवा, सुविधा र पारिश्रमिकबाट कटौती गरिने पनि मन्त्रालयले चेतावनी दिएको छ। मन्त्रालयले यो कार्यान्वयनको जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखलाई सुम्पिएको छ। यस अनुसार समयमै हाजिर नगर्ने कर्मचारीको सेवा सुविधा कटौती गरी कार्यालय प्रमुखको माध्यमबाट असुलउपर गरिने बताइएको छ।
मन्त्रालयले सरुवा गरिएका वा पदस्थापन गरिएका कर्मचारीहरूको रमाना व्यवस्थित गराउने जिम्मेवारी सम्बन्धित विभागीय प्रमुखलाई सुम्पिएको छ। यदि विभागीय प्रमुखहरूले यो निर्देशन पालना नगरे निजामती सेवा ऐन, २०४९ को दफा ६० अनुसार विभागीय सजाय प्रक्रिया अघि बढाइने बताइएको छ। यसले निर्देशन कार्यान्वयन गर्न प्रमुखहरूलाई बाध्य बनाएको छ।
कर्मचारीहरू सबैभन्दा अस्थिर हुँदै गएको जनगुनासो बढिरहँदा मन्त्रालयले चालेको कदम समयाकुल र अत्यावश्यक रहेको बताइएको छ । सोर्सफोर्स लगाएर आफूले चाहेको अड्डामा सरुवा हुने मात्रै नभएर आफूसँग मिल्नेलाई रमानासमेत नदिने चलन बढ्दै गएसँगै विभागीय प्रमुखलाई नै कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको हो ।