चिलिमेको विद्युत बिक्री आम्दानी बढ्यो, कति गर्‍यो नाफा?



काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आम्दानी बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धि भएको हो ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा विद्युत बिक्रीमार्फत ३६ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.५५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३४ करोड २८ लाख रुपैयाँ थियो ।

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको तुलनामा चालु आवको पहिलो त्रैमासमा थप उर्जा खरिद गरेकोले उत्पादनमा वृद्धि भएको विवरणमा उल्लेख गरिएको छ ।

विद्युत बिक्री आम्दानीमा वृद्धि भए पनि यस अवधिमा कम्पनीको खुद नाफा भने १.४८ प्रतिशत मात्र बढेको छ । कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ३९.०५ प्रतिशत घटेका कारण खुद नाफामा दबाब परेको हो ।

असोज मसान्तसम्ममा कम्पनीले २० करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीको कुल नाफा १.८१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १.३९ प्रतिशत बढेको छ।

नाफामा वृद्धि भए पनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८८ पैसा घटेर १० रुपैयाँ ५१ पैसामा झरेको छ ।

चुक्ता पुँजीको तुलनामा खुद नाफा बढाउन नसकेका कारण कम्पनीको प्रतिसेयर आम्दानी घट्न पुगेको हो । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ८९ पैसा रहेको छ ।

७ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको चिलिमे हाइड्रोपावर कम्पनीको जगेडा कोषमा ३ अर्ब १८ करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।


क्लिकमान्डु