सरकारले आईटी दशक घोषणा गर्‍यो तर बजेट छैन: मन्त्री गुरुङ



‘सरकारले एउटा भन्ने, अर्कै गर्ने भएपछि विश्वास नलागेर युवाहरु विदेश भागेका हुन् । अब हामीले यस्तो अवस्था अन्त्य गर्नुपर्छ । ३ वर्षमा आईटी क्षेत्रबाट ३ लाख रोजगारी सिर्जना गर्न लागिरहेका छौं ।’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी राज्यप्रति विश्वास हुने वातावरण सिर्जना गर्ने काममा लागिरहेको बताएका छन् । साथै ०८४ अगाडिका ३ वर्षमा ३ लाख आईटी क्षेत्रबाट रोजगारी सिर्जना गर्ने कुरामा मन्त्रालय लागेको पनि मन्त्री गुरुङले घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा स्टार्टअप एण्ड मिडिया फेस्ट-२०२४ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । नेपालमा भन्ने एउटा र गर्ने अर्को परिपाटीले युवाहरु विश्वास नलागेर विदेश पलायन भइरहेको भन्दै त्यो अवस्थाको अन्त्य गर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो ।

अघिल्लो सरकारले आईटी दशक घोषणा गरे पनि बजेट शून्य रहेको मन्त्री गुरुङले बताए । कृषिमा प्रविधिको दशक सुरु भएको घोषण गरेको तर बजेट शून्य रहेको भन्दै सरकारका यस्ता गतिविधिहरुले युवाहरु विदेश पलायन भइरहेको उनको गुनासो थियो ।

मन्त्री गुरुङले सरकार नेपाललाई सूचना प्रविधिको हबको रुपमा र सूचना प्रविधिलाई उद्योगको रुपमा विशेष आर्थिक क्षेत्र विकास गर्न चाहेको बताएका थिए । मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न सरकारले बजेट नै नछुट्याएको गुनासो गरेका छन् । त्यसको लागि विशेष व्यवस्था गरेर भए पनि डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न आफू लागिपरेको बताए । त्यसको लागि सरकारी क्षेत्रबाट नै आफूले सुरुवात गर्न चाहेको उनको भनाइ थियो ।

‘नेपाल सरकार नेपाललाई सूचना प्रविधिको हबको रुपमा र सूचना प्रविधिलाई उद्योगको रुपमा विकास गर्न र सूचना प्रविधि उद्योगको विशेष आर्थिक क्षेत्र विकास गर्न चाहन्छ । यो अहिलेसम्म गफै हो । अहिलेसम्म भन्ने कुरा गफै हो । लोकरिझ्याइँको लागि बोलेको कुरा मात्रै हो । आईटी दशक सुरु भयो भन्ने पोलिसीमा बोल्छ। हाम्रो सरकार तर आईटी दशक सुरु भएको आईटी क्षेत्रको बजेट शून्य छ,’ मन्त्री गुरुङले भने ।

लोकप्रियताको लागि मात्र भाषणको रुपमा बोलिदिने तर कार्यान्वयन नहुने प्रवृत्तिले पनि धेरै समस्या आएको उनको गुनासो थियो । यसअघिको सरकारले विभिन्न घोषणा गरे पनि बजेटको रुपमा प्राथमिकता नदिँदा योजनाहरु अगाडि बढाउन कठिन भएको उनले बताएका थिए ।

मन्त्री गुरुङले भनेका छन्, ‘मान्छेलाई मन पराउने नीति कार्यक्रम भन्दा भाषण गर्दा मात्रै राम्रो ताली बजाओस् भनेर लोकरिझ्याईंको लागि बोल्दियो । कृषिमा प्रविधिको दशक सुरु भयो भन्छ । कृषि मन्त्रालयको बजेट दुई, तीन अर्ब नै घटिरहेको छ । भन्ने एउटा कुरा र गर्ने अर्को कुरा । त्यसैले नेपालमा प्रतिफल नआएको हो । युवाहरु विश्वास नलागेर भागिरहेका हुन् । यो चिज अब हामीले अन्त्य गर्नुपर्छ । हामीबाटै सुरु गर्नुपर्छ । डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्ने भनेर सरकारले पोलिसीमा भन्यो । त्यसमा एक पैसा पनि बजेट छैन । किन भनेको होला त्यो । त्यसकारण अहिले हामी विशेष व्यवस्था गरेर भए पनि त्यो कार्यक्रम लागू गर्न चाहन्छौँ ।’


क्लिकमान्डु