भैरहवामा रविको बयान: १५ प्रश्नको जवाफ दिँदै लामिछाने, बयान सकिएपछि के हुन्छ ?

1.1k
Shares

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तेस्रो दिन आज पनि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान सुरु भइरहेको छ । बिहीवार बिहान १०:४० बजेदेखि लामिछानेको बयान सुरु भएको हो ।

मंगलबार बिहान पोखराबाट भैरहवा ल्याए लगत्तै लामिछानेको बयान लिन थालिएको थियो । तर बयान नसकिएपछि उनलाई करिब १० घण्टा जिल्ला सरकारी वकिल कार्यालयमा राखेर बयान लिइएको थियो ।

बयानका क्रममा दुई दिनमा गरी ५० भन्दा बढी प्रश्न सोधिएको र यसअघि नै तयार गरिएका झन्डै १५ प्रश्न सोध्न बाँकी रहेको अनुसन्धान अधिकारीहरुले बताएका छन् । उनको बयान आज सक्ने तयारी छ ।

बयानका क्रममा धेरै प्रश्नमा लामिछानेले सहकारी अपचलनमा आफ्नो संलग्नता इन्कार गरेका छन् ।

मंगलबार बयान दिएर साँझ कार्यालय बाहिर निस्किने क्रममा आफ्ना समर्थक र संचारकर्मीलाई ‘खोरमा बाघ थुन्दैमा स्याल हुँदैन’ भन्ने संक्षिप्त प्रतिक्रिया दिएपछि प्रहरी घेरामा उनलाई वकिल कार्यालयमा प्रवेश गराउने र निकाल्ने गरिएको छ ।

बयान सकिएपछि उनलाई यसअघि काठमाडौं लैजाने बताइएको भए पनि अहिले पोखरै फिर्ता लैजाने तयारी रहेको प्रहरी स्रोतको भनाइ छ । पोखरामा थुनामा रहेका उनलाई रुपन्देही लगिएको थियो ।

छविलाल जोशीलाई यसअघि नै रुपन्देही ल्याएर १३ घण्टा बयान लिँदै पोखरा पठाइएको थियो । कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान सकिएपछि भने मंगलबार काठमाडौं पठाइएको थियो ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न जोशी र लामिछानेलाई काठमाडौं पनि लैजाने प्रहरीले जनाएको छ ।

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई पक्राउका लागि अदालतबाट अनुमति लिएको थियो । कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो ।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित उपाध्यक्ष छविलाल बञ्जाडे जोशी लगायतलाई पक्राउ गर्न जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले अनुमति दिएको थियो ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र त्यसको खर्च लामिछानेको हस्ताक्षरमा भएको भन्दै त्यसको अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको थियो ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा, जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ र साढे १२ करोड विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ ।

छविलाई यसअघि नै रुपन्देही लगेर १३ घण्टा बयान लिँदै पोखरा पठाइएको थियो भने रविलाई रुपन्देही ल्याएर बयान लिन लागिएको हो ।

आइतबार मात्र कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कास्कीमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहँदा लामिछानेलाई रुपन्देही लगिएको हो ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।