रविलाई बुटवल लैजान विमानस्थल लगियो, मौसम प्रतिकुल हुँदा भएन उडान

भैरहवामा आन्दोलन गर्दै रास्वपा



पोखरा। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवल लैजाने तयारी गरिएको छ ।

लामिछानेलाई भैरहवा लैजानका लागि कास्की प्रहरीले उनलाई पोखरा विमानस्थल पुर्‍याएको छ । तर प्रतिकुल मौसमका कारण उडान भने हुन सकेको छैन ।

बुध्द एयरको बिहान सात बजेको उडानबाट लामिछानेलाई भैरहवा विमानस्थल लैजाने कार्यक्रम थियो । त्यसका लागि लामिछानेलाई विमानस्थलमा लगिसकिएको छ । विमानस्थलको मौसम प्रतिकुल रहेको र कुहिरो लागेकाले उडान ढिला भएको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई पक्राउका लागि अदालतबाट अनुमति लिएको थियो । कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो ।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित उपाध्यक्ष छविलाल बञ्जाडे जोशी लगायतलाई पक्राउ गर्न जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले अनुमति दिएको थियो ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र त्यसको खर्च लामिछानेको हस्ताक्षरमा भएको भन्दै त्यसको अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको थियो ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा, जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ र साढे १२ करोड विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ ।

छविलाई यसअघि नै रुपन्देही लगेर १३ घण्टा बयान लिँदै पोखरा पठाइएको थियो भने रविलाई रुपन्देही ल्याउने तयारी भइरहेको प्रहरी स्रोतको भनाइ छ ।

कात्तिक २ देखि हिरासतमा रवि

कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने त्यसयता कास्की प्रहरीको हिरासतमा छन् ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका हुन् । उनी २५ दिनयता कास्की प्रहरीको हिरासतमा रहेका छन् ।

आइतबार मात्र कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कास्कीमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहँदा लामिछानेलाई रुपन्देही लैजाने प्रहरीले तयारी गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले लामिछानेलाई रुपन्देही ल्याउने तयारी भइरहेको बताए ।

लामिछानेलाई आज बिहान पोखराबाट भैरहवा ल्याउन लागिएको हो । रास्वपा नेतृ ज्वाला संग्रौलाले लामिछानेलाई विहान ७ बजेअघि नै पोखरा विमानस्थलमा लगिएको भए पनि बाक्लो हुस्सुका कारण उडान हुन नसकेको बताइन् ।

लामिछानेलाई बुटवल ल्याउने भएसँगै रास्वपाले बुटवल केन्द्रित आन्दोलन गर्ने भएको छ ।

मंगलबार(आज) विहान साढे ११ बजे लुम्बिनी गेट भैरहवामा रास्वपाले ऐक्यबद्धताका लागि उपस्थित हुन आग्रह गरेको छ ।


क्लिकमान्डु