वित्तीय खर्च घट्दा साहस ऊर्जाको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४० करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ३४ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत वर्षभन्दा साहस ऊर्जाले करिब ५ करोड ७५ लाख रुपैयाँ बढी खुद नाफा कमाएको हो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने घटेको छ । कम्पनीले पहिलो तीन महिनामा ८६ करोड ७१ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ । गत वर्ष ८९ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको वित्तीय खर्च घट्दा खुद नाफा बढेको हो । वित्तीय खर्च ३२ करोड ८९ लाख रुपैयाँबाट २३ करोड ४० लाख रुपैयाँमा झरेको छ । यस हिसाबले कम्पनीको प्रति सेयर आम्दानी ४५.७४ रुपैयाँ र प्रति सेयर नेटवर्थ १८४.८९ रुपैयाँ छ ।
साहस ऊर्जाले निजी क्षेत्रकै अहिलेसम्मको ठूलो ८६ मेगावाटको सोलुखोला (दुधकोसी) जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याएको छ ।