फेसबुकको कम्पनी मेटाले रेब्यान चस्मा विक्री गर्न पसल खोल्दै



एजेन्सी । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सजस्ता लोकप्रिय सामाजिक सञ्जालका प्लेटफर्महरुको मूल कम्पनी मेटाले आफ्नो अर्को एक उत्पादन ‘रेब्यान मेटा स्मार्ट ग्लास’ बेच्नका लागि पसल खोल्ने भएको छ ।

कम्पनीले प्रयोगात्मक रुपमा अमेरिकाको लस एञ्जल्समा नोमेम्बर ८ बाट पसल खोल्न लागेको हो । उक्त अस्थायी पसलमा उपभोक्ताहरुले चस्मा लगाएर हेर्न सक्ने र आफूले चाहेअनुसार चस्मामा विभिन्न ‘कस्टमाइजेसन’ पनि गर्न पाउने छन् ।

यो पसल भने सन् २०२४ को अन्त्यसम्म सञ्चालनमा रहनेछ । साथै मेटा ल्याबमा विभिन्न कन्टेन्ट क्रिएटरलाई लिएर स्थानीय कार्यक्रमहरु पनि गरिने बताइएको छ ।

यो पसललाई मेटा ल्याबको थप विस्तारित स्वरुपका रुपमा भनिएको छ । र यसमार्फत कम्पनीले हालै सार्वजनिक गरेको पारदर्शी रेब्यान चस्माहरुको बिक्रीमा जोड दिनेछ । सन् २०२४ को मेटाकै कनेक्ट नामक कार्यक्रममा सार्वजनिक गरिएको यो चस्मा त्यो बेला कार्यक्रममा भाग लिएका २५ प्रतिशतले खरिद गरेको पनि बताइएको छ ।

मेटाको यो स्मार्ट चस्मा गीत सुन्नेजस्ता सामान्य मनोरञ्जनात्मक कामदेखि भिआर (कृतिम वास्तविकता) सिर्जना गरेर काम पनि गर्न सकिनेजस्ता विशेषतासहितको रहेको छ ।


क्लिकमान्डु