नेपालमा एआईको विकास र प्रयोग: देशको समृद्धिमा कायापलट कसरी सम्भव छ ?
काठमाडौं । मानवजाति जब जंगली युगबाट सभ्य समाजतर्फ अग्रसर भइरहँदा सुरुमा आगो आविष्कार गरियो । त्यसपछि क्रमश: पांग्रा वा चक्का, बिजुली, छपाइ मेसिन, रेडियो, टेलिफोन, टेलिभिजन, कम्प्युटर,इन्टरनेट, रोबोट हुँदै हाल एआईको युगमा हामी आइपुगेका छौं ।
आगोको आविष्कारले मानवजातिलाई जंगली युगबाट कृषिसँगै एक सभ्य समाजतर्फ अगाडि बढायो । पांग्राको आविष्कारले मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न सहज बनाइदियो । नयाँ मोडेलका सवारी साधनहरु बन्न थाले । यसले मानव जीवनलाई सहज बनाइदियो । मेसिन, इन्टरनेट, रोबोट बनिरहँदा मानिसको शारीरिक श्रम खर्च हुने अधिकांश कामहरुलाई सजिलै र छोटो समयमै सम्भव बनेका छन् ।
यस क्रममा हाल विकास र समृद्धिको अर्को खुड्किलो बनेको छ एआईको आविष्कार । अर्थात् एआईको आविष्कारले सिंगो मानवजातिलाई थप सहज बनाइदिने अपेक्षा गरिएको छ । सूचना प्रविधिको विकासबारे बहस हुँदा सम्भवत: सबैभन्दा धेरै कुरा गरिएको विषय एआई नै हो । जसले मानव समाजलाई अझै समृद्ध बनाउने अपेक्षा गरिएको छ । अर्कोतर्फ यसले आम मानिसले गरिरहेका रोजगारीहरु खोस्ने चिन्ता उत्तिकै छ ।
यसै साता सत्तारुढ दल नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले काठमाडौंमा दुई दिने एआई एन्ड रोबोटिक्स अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।
जहाँ प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापा, माओवादी केन्द्रका नेता एवं पूर्व शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित चीन, कोरिया, हङकङ, थाइल्यान्ड, अमेरिका लगायत देशका विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा एआई विज्ञहरुले समेत आफ्नो प्रस्तुती दिएका थिए ।
अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय कोलम्बिया विश्वविद्यालयका नेपाली प्राध्यापक समिर मास्केसँग प्रधानमन्त्री केपी ओलीले अन्तर्वार्ता गर्दा निकै रोचक बहस भयो । प्रधानमन्त्री ओलीले नेपालको विकासमा एआईको प्रयोग र यसको सुरक्षाबारे संवाद गरेका थिए । प्राध्यापक मास्केले भने नेपालमा जसरी एआईबारे बहस भइरहेको छ यसले सकारात्मक परिवर्तन गर्नेमा आशावादी देखिए । साथै उनले एआई नीति बनाउन सरकारलाई सुझाव समेत दिएका थिए ।
प्रधानमन्त्री केपी ओलीले भने एआईको विकासको सन्दर्भमा नेपालले यसमा इभोलुसन नभएर रिभोल्युसन गर्न चाहेको र त्यसतर्फ सरकार अगाडि बढिरहेको बताएका थिए । केपी ओली यसअघि प्रधानमन्त्री बन्दा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत डिजिटल नेपाल फ्रेमवर्कको माध्यमबाट व्यापक रुपमा एआईको प्रयोग गर्ने योजना अगाडि सारिएको थियो । जुन योजनाले मूर्त रुप पाउन भने सकिरहेको छैन । सम्मेलनमा प्रधानमन्त्रीले डिजिटल नेपाल फ्रेमवर्क पनि नेपालमा एआईको प्रयोग र विकासका लागि आधारशीला भएको बताएका थिए ।
एआईको पर्याप्त विकासका बावजुद यसको असुरक्षाबाट निम्तिनसक्ने असरबारे पनि विज्ञ र सरोकारवालाहरुको चिन्ता छ । यसका लागि एआई नीति आवश्यक रहेको विज्ञहरुले औंल्याएका छन् । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक एआई विज्ञ मास्के भन्छन्, ‘हाल विभिन्न विकसित देशहरुले पनि एआई नीति बनाउने विषयमा छलफल गरिरहेका छन् । यसबारे नेपाल सरकारले पनि चासो र चिन्ता गर्नु खुसीको कुरा हो । यस्तैमा नेपालले एआई नीति बनायो भने नयाँ इतिहास रच्नेछ । र यो विश्वकै लागि उदाहरण बन्नेछ ।’
कहाँ प्रयोग गर्न सकिन्छ एआई प्रयोग ?
उद्यमी कृष्ण केशव चौधरीले पछिल्लो केही वर्षयता करोडौं खर्च गरेर एउटा डिभाइस थोप्लो मेसिन निर्माण गरेका छन् । थोप्लो मेसिनले किसानहरुलाई आफ्नो खेतीमा प्रयोग गरेर बालीको अवस्था, अन्नबालीमा रोग लागेको छ कि छैन वा पानीको मात्रा पुगेको छ कि छैन ? अर्थात् बालीमा कुन तत्व आवश्यक छ ? माटोको अवस्था कस्तो छ भन्ने लगायतका सबै जानकारी दिन्छ । र उक्त मेसिनको सूचना र निर्देशन अनुसार किसानले आफ्नो खेती गर्न सक्छन् ।
चौधरीले निर्माण गरेको उक्त मेसिन हाल देशका विभिन्न स्थानबाट किसानहरुले माग गरिरहेका छन् । एआईको प्रयोग गरेर यसरी देशभर किसानले आफ्नो उब्जनी बढाउन त सक्छन् नै कुन ठाउँमा के खेती गर्ने भनेर पूर्वजानकारी पनि लिन सक्ने विज्ञहरु बताउँछन् ।
समग्रमा नेपाल जस्तो देशमा कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन लगायतका क्षेत्रमा एआईको प्रयोग गरेर पर्याप्त उन्नति गर्न सकिने विज्ञहरुको सुझाव छ । बालीमा लाग्न रोगो पहिचान, पात पहेँलो हुने वा माटोको अवस्था पत्ता लगाउने जस्ता काममा एआईको सफल प्रयोग गर्न सकिने बताइन्छ ।
यसैगरी स्वास्थ्य उपचारमा पनि यसको सफल प्रयोग गर्न सकिन्छ । जस्तो कि, एआईको निर्देशनबाट रोगको पहिचान वा उपचार पद्दति अवलम्वन गर्न सकिने विज्ञहरुको सुझाव छ । एआई सम्मेलनमा विदेशी विज्ञहरुले स्वास्थ्य उपचारमा यसको कसरी प्रयोग गर्ने भनेर प्रस्तुती दिएका थिए ।
स्वास्थ्य उपचारको सन्दर्भमा नेपाल जस्तो देशमा यसलाई निकै प्रभावकारी रुपमा प्रयोग गर्न सकिने उनीहरुले बताएका थिए । कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले बहसको क्रममा भनेका थिए, ‘नेपालीहरु उपचार गर्न विदेशका अस्पताल जाने गर्छन् । किनकि हामीकहाँ भएको डायग्नोस्टिकमा विश्वास नै छैन । तर एआईको प्रयोगले यसलाई विश्वासिलो र प्रभावकारी बनाउन सकिन्छ ।’
यस्तै एआईको प्रभावकारी रुपमा प्रयोग गर्न सकिने क्षेत्र शिक्षा हो । जहाँ नेपालीहरु घन्टौं पैदल यात्रा गरेर स्कुल जाने गर्छन् । कतै शिक्षक छैनन्, कतै विद्यालय नै छैनन् त कतै शैक्षिक सामग्रीको अभाव । यस्तो अभावका बीच एआई प्रविधिको प्रयोग शिक्षाबाट वञ्चित विद्यार्थीहरुका लागि निकै प्रभावकारी हुने विज्ञहरुको सुझाव छ ।
आम नागरिकको दैनिक जीवनसँग जोडिने कृषि, शिक्षा र स्वास्थ्यको क्षेत्र परम्परागत रुपमा नै चल्दैआएको छ । देशको विकास र समृद्धिको सपना पनि यसैसँग जोडिएको छ । तर यी तीन क्षेत्रमा एआई उपकरणको व्यापक प्रयोग गर्ने हो भने देशकै विकास र समृद्धिमा कायापलट गर्नसक्ने विज्ञहरुको विश्वास छ ।
एआई बहस नीति बनाउन सहयोगी
रोबोटिक्स एसोसिएसनले गत वर्ष पनि एआई कन्फ्रेन्स आयोजना गरेको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन शिक्षामन्त्री अशोक राईलाई सम्मेलनमा बोलाएर यसबारे गहिरो बहस सुनाएको थियो ।
विशेषगरी शिक्षा नीतिहरु बनाउने क्रममा एआई विज्ञहरुसँग व्यापक परामर्श र छलफल आवश्यक हुन्छ । सोही अनुरुप तत्कालीन शिक्षामन्त्री राईलाई पनि सम्मेलनमा बोलाइएको थियो ।
जहाँ उनले शिक्षा क्षेत्रसँग एआईको के सम्बन्ध छ र शिक्षाका लागि यो कसरी सहयोगी बन्छ भन्ने कुराबारे बहस सुनेका थिए । विडम्वना तत्कालीन प्रधानमन्त्री दाहाल र तत्कालीन शिक्षामन्त्री राई एआई सम्मेलनमा सहभागी भएर एआईमैत्री नीति बनाउने प्रतिबद्धता व्यक्त गरेको केही दिनमै सरकार ढल्यो ।
रोबोटिक्स एसोसिएसनको पहलमा यसपटक पनि नीतिबारे विज्ञसहित सरकारी उच्च अधिकारीहरु पनि एआई सम्बन्धी नीतिबारे छलफलमा सहभागी भए । यसले पक्कै पनि एआईको महत्त्व र उपयोगिताबारे सरकारी उच्च तहलाई सचेत गराउने अपेक्षा गर्न सकिन्छ । यसवाहेक सम्मेलनमा नेपाली कांग्रेसका नेता, माओवादी केन्द्रका नेता र एमालेका नेताहरु समेत सहभागी हुनुले अब एआई सम्बन्धी नीति बनाउन सहमति बन्ने र सहज हुने अपेक्षा गर्न सकिन्छ ।
विशेषगरी एआईका उत्पादन र सिर्जनामा नेपाली विज्ञहरुको योगदान हेर्ने हो भने निराशाजनक अवस्था छैन । बरु नेपाली विज्ञले सिर्जना गरेका एआई उत्पादनको बजार भने सीमित छ । उदाहरणका लागि नेपाली विज्ञले धानखेतमा औषधि छर्ने ड्रोन वा रोबोट निर्माण गरे भने उक्त मेसिनको खपत कहाँ हुन्छ ?
जवकि नेपालमा ३० प्रतिशत किसानले पनि व्यवसायिक रुपमा खेती गरेका छैनन् । १५ लाख किसानहरु मात्रै औपचारिक रुपमा दर्ता भएका छन् ।
यसरी हेर्दा नेपालमा १५ लाख किसानले उक्त डिभाइस खरिद गर्ने छन् । जहाँसम्म उक्त डिभाइस निर्माण गर्न करोडौं रकम खर्च हुन्छ । करोडौं रकम खर्च गरेर बनाएको मेसिन विक्री गर्ने बजार नै छैन भने वैज्ञानिक र उद्यमीहरुमा उत्साह नहुनसक्छ ।
अर्कोतर्फ विदेशमा निर्यात गर्ने कुरा गर्ने हो भने त सीमा अवरोध र कर नीतिको झन्झटले थप निराशा थप्ने भन्दै व्यवसायीहरु थप निराश बन्ने अवस्था छ । उक्त सम्मेलनमा पनि उद्यमीहरु र विज्ञहरुले पनि यस्तै अवरोधहरु औंल्याएका थिए । यद्यपि नेपाली वैज्ञानिकहरु एआई उत्पादनमा सोचेभन्दा निकै अब्बल बनिसकेको विज्ञहरुको भनाइ थियो ।
जस्तो कि बालीको अवस्थाबारे सूचना दिने डिभाइस थोप्लो मेसिनका निर्माता तथा उद्यमी कृष्ण केशव चौधरीले यसको निर्माणका लागि ४ करोडसम्म खर्च भइसकेको बताएका छन् । किसानहरुमा यो लोकप्रिय पनि बनिरहेको छ । तर कृषिप्रधान देश भनिएको नेपालका अधिकांश किसानहरुलाई यो मेसिनबारे जानकारी नै छैन ।
चौधरीका अनुसार सीमित व्यवसायिक किसानले मात्रै यो थोप्लो मेसिन खरिद गरिरहेका छन् । आम किसानको अवस्था हेर्ने हो भने सरकारी अनुदान पाएको अवस्थामा मात्रै उनीहरु थोप्लो मेसिनको प्रयोग गर्छन् । र यसरी अनुदानमा पाइएको मेसिनको उचित संरक्षण पनि नहुने गरेको चौधरीको तितो अनुभव छ ।
अर्कोतर्फ सरकारी निकायहरुबाट हुने नियमित सेवा प्रवाहलाई सहज बनाउन सरकारले नै एआई उत्पादनहरुलाई बढावा दिनु जरुरी छ । यस्ता उपकरणहरु निर्माणमा लागिरहेका निजी कम्पनीहरुलाई सरकारले नै सहजिकरण गरिदिनुपर्ने आवश्यकता हुन्छ। अर्थात् यस्ता उपकरण निर्माण गर्ने सीप भएका विज्ञहरुलाई विदेश जाने वातावरण बनाउनुको सट्टा नेपालमै टिक्ने वातावरण सिर्जना गरिदिनुपर्छ ।
जवकि एआई उपकरणको विकास गर्न जान्ने इन्जिनियर वा युवा वैज्ञानिकहरुले विदेशमा दसौं लाख आम्दानी गर्न सक्छन् । उनीहरुको जीवनस्तर त्यहाँ सहज हुन्छ । यस्तो अवस्थामा नेपाल सरकारले उनीहरुलाई नेपालमै उचित वातावरण सिर्जना गरिदिनुपर्ने हुन्छ । यससँगै अर्को महत्त्वपूर्ण पक्ष भनेको निजी कम्पनीहरुलाई पनि यस क्षेत्रमा लाग्न प्रेरित गर्नु आवश्यक छ । एआई उपकरणको बजारका लागि विदेश निर्यात सम्बन्धी सीमा अवरोध र भन्सार सम्बन्धी अवरोधलाई सहजीकरण गरिदिनुपर्ने हुन्छ ।
यी सम्पूर्ण पक्षबारे २ दिने सम्मेलनमा नेपाल सरकारका उच्च अधिकारीहरु र राजनीतिक नेतृत्व सहभागी भएर यसको विकासका लागि प्रतिबद्धता व्यक्त गरेका थिए ।
‘यति विशास युवा विज्ञहरु सहभागी भएको सम्मेलनमा हामी प्रमुख दलका प्रतिनिधिहरु सहभागी भएर बोल्यौं । यसको महत्त्व र उपयोगिताबारे छलफल गर्यौं । यसबाट के बुझ्नुपर्छ भने हामी सबै यसप्रति गम्भीर छौं। एआईको विकासका लागि प्रमुख दलहरुको साझा सहमति छ,’ नेता गगन थापाले भनेका थिए ।
नेता थापाले भने झैं प्रधानमन्त्रीसहित प्रमुख दलका प्रतिनिधिले एआईको विकासका लागि प्रतिबद्धता व्यक्त गरेका थिए । तर यथार्थमा परिणत गर्न भने प्रतिबद्धताले मात्रै काम गर्दैन । यसका लागि त ठोस कदमकै खाँचो पर्छ ।