राइडर दिपक शाहलाई रोयल इन्फिल्ड नेपाल अल्फा अटोमोटीभबाट सम्मान

238
Shares

काठमाडौं । भारतमा सम्पन्न रयाली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी बनेका छन ।

रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका राइडर साहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ) द्वारा सम्मान गरिएको छ ।

काठमाण्डौको एटिक रेष्टुरेन्टमा नेपालका अनुभवी राइडरबीच साहलाई खादा, सम्मान पत्र र ९५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

अल्फा अटोमोटिभ प्राइभेट लिमिटेडका ब्राण्ड एण्ड कम्युनिकेसन अफिसर युक्ता बंसलका अनुसार राइडर साहले असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयोजना भएको रयाली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए । यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू-भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गको लागि प्रसिद्ध छ।


भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्यालीसम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो । त्यो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटर सम्म उचाई भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए ।

सम्मान थाप्दै साहले भने, ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्वका साथ विजयी समेत बनेकोमा गौरवान्वित महसुस गरेको छु। रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा म हिमालयको चुनौतीपूर्ण भू–भागको सामना गर्नको लागि आत्मविश्वास महसुस गरेको छु र म आफ्नो देशलाई मोटरस्पोर्टबाट विश्वभर चिनाउन चाहन्छु।’