रामेश्वर खनाल नेतृत्वको आयोगले माग्यो आर्थिक सुधारका लागि गर्नु पर्ने कामको सुझाव



काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा गठन भएको उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले आम सर्वसाधारणसँग सुझाव मागेको छ ।

अर्थ मन्त्रालयको वेवसाइटमा सूचना प्रकाशित गर्दै खनाल नेतृत्वको आयोगले उद्योगी व्यवसायी, संघ संस्था, सार्वजनिक निकाय, वैदेशिक लगानीकर्ता, विज्ञ तथा आम नागरिकसँग लिखित राय सुझाव मागे गरेको हो ।

सरकारले आर्थिक सुधारका लागि गर्नु पर्ने कामका विषयमा आगामी मङ्सिर १५ गते भित्र सुझाव पठाउन आयोगले आग्रह गरेको छ । आयोगको सचिवालय रहेको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र, हरिहर भवन वा [email protected] इमेल गरी सुझाव पठाउन सकिने आयोगले जनाएको छ ।

सरकारले गत असोज २१ गते आर्थिक सुधारका लागि सरकारले गर्नु पर्ने कामकारबाहीका विषयमा सुझाव दिन पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको थियो । आयोगमा प्राडा रामप्रसाद ज्ञवाली, डा प्रकाशकुमार श्रेष्ठ, डा कल्पना खनाल र डा विश्वास गौचनलाई सदस्य छन् ।

आयोगलाई अर्थतन्त्रका सबै पक्षको अध्ययन गरी विद्यमान आर्थिक समस्या समाधान गर्न सरकारले गर्नु पर्ने काम कारबाहीका विषयमा सुझाव दिने जिम्मेवारी दिइएको छ ।

समतामुलक तथा दिगो उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना, अर्थतन्त्रको संरचनात्मक परिवर्तन गरी औद्योगिक / उत्पादनशील अर्थतन्त्र निर्माण, गरिबी निवारण गरी समृद्ध नेपाल निर्माण गर्न आगामी ६ महिना भित्र सरकारलाई सुझाव दिने गरी आयोगले काम गरिरहेको जनाएको छ ।


क्लिकमान्डु