काठमाडौंबाट दिल्ली जान लागेको एयर इण्डियाको विमानमा बम भएको सूचना, यात्रु उतारेर जाँच हुँदै
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भारतको दिल्ली फर्किन लागेको एयर इण्डियाको विमानमा बम भएको सूचना आएसँगै जहाजको जाँच सुरु गरिएको छ ।
भारतीय वायुसेवा एयर इण्डियाको विमानमा अज्ञात समूहले बम राखेको भन्दै सूचना दिएपछि विमानलाई रोकेर जाँच सुरु गरिएको हो ।
उक्त सूचना सार्वजनिक भएसँगै जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेर सुरक्षा जाँच भइरहेको हो ।
सोमबार दिउँसो साढे २ बजे उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । अवतरण भए लगत्तै बम रहेको भन्दै सूचना आएपछि जाँच थालिएको हो ।
जहाजमा बम रहेको हल्ला चलेसँगै नेपाल प्रहरी र नेपाली सेनाले उक्त जहाजलाई नियन्त्रणमा लिएर सुरक्षाजाँच गरिरहेका छन्।
‘हाजमा बम राखिएको भन्ने सूचना सार्वजनिक भएसँगै अहिले विमानको जाँच भइरहेको छ’ विमानस्थल स्रोतले भन्यो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बम राखिएको हल्लापछि विमानबाट यात्रु उतारेर अहिले जाँच भइरहेको छ ।
यसअघि गत साता मात्रै दिल्लीबाट नेपाल आएको अर्को विमानमा पनि बम राखिएको हल्ला चलेको थियो । भिस्तारा कम्पनीको विमानमा बम भएको हल्लासँगै विमानस्थलमा उक्त जहाजको चेकजाँच भएको थियो, तर विमानमा कुनै पनि शंकास्पद वस्तु फेला परेको थिएन ।