अत्याधिक नोक्सानीपछि अन्तरिक्ष विभाग बिक्री गर्ने बोइङको तयारी
एजेन्सी । विश्वविख्यात हवाई जहाज तथा अन्तरिक्ष यन्त्र उत्पादक कम्पनी बोइङले आफ्नो कम्पनीअन्तर्गतको अन्तरिक्ष विभागलाई बिक्री गर्ने तयारी गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द वाल स्ट्रिट जर्नलमा प्रकाशित एक रिपोर्टकाअनुसार गत अगष्टमा बोइङको प्रमुख प्रशासकीय अधिकृतका रुपमा नियुक्त भएका केल्ली अर्टबर्गले कम्पनीको अन्तरिक्ष विभागलाई बिक्री गर्ने तयारी गरेका छन् । यसको कारण भने कम्पनीमा केही पक्षहरुमाथि गर्न खोजिएको परिवर्तन रहेको छ।
उक्त रिपोर्टकाअनुसार यो योजना अहिले प्रारम्भिक चरणमा छ । तर सोही योजनाअनुसार कम्पनी अघि बढेमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानलाई फर्काउने देखि अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसनलाई सहायता गर्न गरिएका परियोजनाहरुमा पनि अन्त्य हुनेछ ।
बोइङले पछिल्लो समय थुप्रै समस्याहरु भोगिरहेको छ । जसमा कम्पनीको जहाज ७३७ म्याक्सको दुर्घटनासँग सम्बन्धित ठगी प्रकरणदेखि अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसनमा कैयौं महिनासम्म अन्तरिक्ष यात्रीलाई छाडिएको स्टारलाइनरको प्रकरण पनि जोडिएको छ ।
यो साता मात्रै बोइङले इन्टेलस्याटका लागि बनाएको उपग्रह पनि एक्कासी काम गर्न बन्न गरेर खसेको छ । यसको कारण पनि खुल्न सकेको छैन ।
यीनै विषयलाई सम्बोधन गर्दै कम्पनीका सीईओ अर्टबर्गले यो साता भनेका थिए, ‘हामी धेरै गरेर नराम्रो गर्नु भन्दा कम गरेर राम्रो गर्न चाहन्छौं । स्पष्ट रुपमा हाम्रो प्रमुख काम भनेको व्यवसायिक हवाईजहाज र रक्षा प्रणाली नै हो । यीनिहरु दीर्घकालमा पनि बोइङ कम्पनीसँगै रहनेछन् । तर केही कुराहरु भने अहिले कमजोर अवस्थामा रहेका छन् ।’
यद्यपी द वाल स्ट्रिट जर्नलले उदृत गरेको स्रोतअनुसार भने बोइङले अन्तरिक्ष प्रक्षेपण प्रणालीमा भने काम गर्ने नै छ, जसले कालान्तरमा नासाका अन्तरिक्ष यात्रीहरुलाई चन्द्रमामा फिर्ता ल्याउन सहयोग गर्नेछ ।
अर्टबर्गले निकट महिनामा नै कुनै ठूलो परिवर्तन गर्नै पर्ने अवस्था छ । जसको कारण भनेको कम्पनीले अत्याधिक रुपमा गरिरहेको खर्च हो । गत बुधबारकाअनुसार बोइङको कारोबारमा एक त्रैमासमा नै ६.१७ अर्ब अमेरिकी डलरको कमि देखिएको छ, जसमा २५ करोड अमेरिकी डलर मात्रै स्टारलाईनर परियोजनासँग संलग्न रहेको छ ।
बोइङ स्वय: ले पनि सन् २०२५ भरि नै नोक्सानी बेहोर्ने प्रक्षेपण पनि गरेको छ ।