सडकमा भीड जम्मा पारेर न्याय प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलको चेतावनी
काठमाडौं । सत्तारुढ दलले सहकारी ठगी छानबिनका लागि गठन भएको संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेको स्पष्ट पार्दै फौजदारी अभियोगको छानबिन भइरहँदा सडकबाट अदालतलाई धम्क्याउने कुरा स्वीकार्य नहुने निष्कर्ष निकालेको छ ।
संसदमा सबैको सहमतिमा पारित प्रतिवेदन सरकारले कार्यान्वयनका लागि अघि बढाएको अवस्थामा रास्वपा नेता कार्यकर्ताको भीड सडकमा जम्मा गरेर प्रदर्शन या आन्दोलन गर्नु उचित नभएको सत्ता गठबन्धनको ठहर छ । संसदीय समितिमा रहेका दलले नै कारबाही प्रक्रिया अघि बढाउँदा प्रश्न उठाउने नैतिक अधिकार नहुने निष्कर्ष बैठकको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठपछि एमाले महासचिव शङ्कर पोखरेलले संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेका बेला भीड जम्मा गरेर न्यायिक निरूपणमा बाधा पुर्याउन खोजिएक भन्दै त्यसो नगर्न चेतावनी दिए ।
‘स्वभाविक रुपमा छानविन र न्यायिक निरुपणको आफ्नो विधि प्रक्रिया हुन्छ’, महासचिव पोखरेलले भने, ‘छानविन अघि बढिरहेका बेलामा सडकमा भीड जम्मा छानविन प्रक्रियालाई प्रभावित गर्ने र अदालतलाई समेत प्रभावित गर्ने गतिविधि लोकतान्त्रिक दृष्टिकोणले पनि उचित हुँदैन ।’
नयाँ भन्ने राजनीतिक दलहरुले अहिले देखाएको संस्कारले लोकतन्त्रलाई डिरेल बनाउने खतरा रहेको पोखरेलले बताए । उनले रास्वपाका नेता कार्यकर्तालाई कानूनी राज्यलाई कमजोर बनाउने काम नगने आग्रह गरे ।
छानबिन प्रक्रिया निष्पक्ष हुने भन्दै उनले सरकारले कुनै आग्रह पूर्वाग्रह नराख्ने दाबी गरे ।