धमाधम इन्टरनेटको लाइसेन्स खारेज गर्दै दूरसञ्चार प्राधिकरण, दुई दिनमा ३ वटालाई कारवाही



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले समयमा नै नवीकरण नगर्ने र तोकिएको शर्तसमेत पालना नगर्ने इन्टरनेट सेवाप्रदायकको धमाधम इजाजतपत्र खारेज गर्न थालेको छ ।

प्राधिकरणले सोमबार मात्रै लाइफ नेट र सी डाटा कम्युनिकेसनको इजाजतपत्र खारेज गरेको थियो । सोमबार एकैदिन दुईवटा इन्टरनेट सेवाप्रदायकको इजाजतपत्र खारेज गरेको सूचना निकालेको दूरसञ्चार प्राधिकरणले मंगलबार फेरि अर्को एक सेवाप्रदायक रेग्मी मिडिया इंकको लाइसेन्स खारेज भएको सूचना निकालेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७१ असोज २३ मा इन्टरनेट सेवा सञ्चालनको अनुमति पाएको रेग्मी मिडियाको इजाजतपत्र २०८१ असोज २३ देखि रद्द भएको प्राधिकरणको भनाइ छ ।

यो सेवाप्रदायकलाई नेपाल दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम कारवाही गर्दै इजाजतपत्र खारेज गरिदिएको हो । अब यो सेवाप्रदायकले तिर्न बुझाउनपर्ने रकमका सम्बन्धमा ३० दिनभित्र सम्पर्क गर्नुपर्ने अन्यथा कानून बमोजिम थप कारवाही हुने पनि प्राधिकरणको भनाइ छ ।


क्लिकमान्डु