रविलाई प्रहरीले आज अदालतमा पेस गर्दै, कति दिन थपिएला म्याद ?
पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीक सभापति रवि लामिछानेलाई प्रहरीले आज अदालत पेस गर्ने भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराउने छ ।
‘हामीले आइतबार म्याद थपका लागि अदालतमा लैजाने तयारी गरेका छौं । १० दिनभन्दा बढी म्याद थप माग्छौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका एक प्रहरी अधिकारीले भने, ‘सरकारी वकिलको कार्यालयको सिफारिस र अदालत कति दिन थपिदिन्छ त्यसमा निर्भर हुन्छ । हामीलाई अनुसन्धान गर्न धेरै समय चाहिएको छ ।’
ती प्रहरी अधिकारीका अनुसार आइतबार म्याद थप गरेर ल्याएपछि प्रहरीले अनुसन्धान थाल्नेछ । अनुसन्धानबाट निष्कर्ष निकालेपछि अभियोजनसहितको मुद्दा लैजानेछ । ‘म्याद थपको प्रक्रिया सकिएपछि हामी अनुसन्धान थाल्छौं । चारवटा प्रतिवेदनलाई आधार बनाएर अनुसन्धान गर्नेछौं । त्यो प्रतिवेदन र प्रमाणहरुलाई भिडाएर हेर्छौं,’ ती अधिकारीले भने ।
नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाको संयोजकत्वमा बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन समेतलाई आधार बनाएर प्रहरीले अनुसन्धान गर्ने तयारी गरेको छ ।
सहकारी ठगीका विषयमा छानविनका लागि थापाका संयोजकत्वमा सात सदस्यीय संसदीय विशेष समिति बनेको थियो । ।
उक्त समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको थियो । रास्वपाका सभापति रवि लामिछाने र गोरखा मिडिया नेटवर्क, रविका व्यवसायीक साझेदार गितेन्द्र बाबु (जीवी)राईलाई समेत केन्द्रमा राखेर प्रतिवेदन बनेको छ । करिब ३० वटा सहकारीका विषयमा अध्ययन गरेको छ ।
जसमा ५ वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ बचतकर्ताको पैसा गोरखा मिडिया नेटवर्कमा गएको देखिएको छ । त्यसमा रवि लामिछाने, जीवी राई, छविराज जोशी, कुमार रम्तेलको भूमिका रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारीको बचत अपचलन समितिले सहकारीको पैसा अपचलन गर्ने गोरखा मिडिया नेटवकर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने लगायतमाथि कारबाहीको सिफारिस गरेको छ ।
शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिएको छ । लामिछानेविरुद्ध पोखरामा सूर्यदर्शन सहकारी ठगीमा पुरक किटानी जाहेरी परेको छ ।