रवि लामिछानेलाई आइतबार अदालत लगिँदै, कम्तीमा १० दिन म्याद माग्ने प्रहरीको तयारी



काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार अदालतमा म्याद थपका लागि उपस्थित गराउने तयारी गरेको छ ।

प्रहरी जिल्ला अदालत कास्कीमा म्याद थपका लागि उपस्थित गराउन लागेको हो । ‘हामीले भोलि म्याद थपका लागि अदालतमा लैजाने तयारीमा छौं । १० दिनभन्दा बढी म्याद थप माग्छौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका एक प्रहरीले भने, ‘सरकारी वकिलको कार्यालयको सिफारिस र अदालत कति दिन थपिदिन्छ त्यसमा निर्भर हुन्छ । हामीलाई अनुसन्धान गर्न धेरै समय चाहिएको छ ।’

ती प्रहरी अधिकारीका अनुसार आइतबार म्याद थप गरेर ल्याएपछि प्रहरीले अनुसन्धान थाल्नेछ । अनुसन्धानबाट निष्कर्ष निकालेपछि अभियोजनसहितको मुद्दा लैजानेछ । ‘म्याद थपको प्रक्रिया सकिएपछि हामी अनुसन्धान थाल्छौं । चारवटा प्रतिवेदनलाई आधार बनाएर अनुसन्धान गर्नेछौं । त्यो प्रतिवेदन र प्रमाणहरुलाई भिडाएर हेर्छौं,’ ती अधिकारीले भने ।

नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाको संयोजकत्वमा बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन समेतलाई आधार बनाएर प्रहरीले अनुसन्धान गर्ने तयारी गरेको छ । आइतबार म्याद थपका लागि उपयुक्त समय हेरेर लैजाने तयारीमा प्रहरी छ ।

सहकारी ठगी छानविनका लागि थापाका संयोजकत्वमा सात सदस्यीय समिति बनेको थियो । जेठ १५ गते मंगलबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले ७ सदस्यीय छानविन समिति बनाएको हो ।

उक्त समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरिसकेको छ । रास्वपाका सभापति रवि लामिछाने र गोरखा मिडिया नेटवर्क, रविका व्यवसायीक साझेदार गितेन्द्र बाबु (जीवी)राईलाई समेत केन्द्रमा राखेर प्रतिवेदन बनेको छ । करिब ३० वटा सहकारीका विषयमा अध्ययन गरेको छ ।

समा ५ वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ बचतकर्ताको पैसा गोरखा मिडिया नेटवर्कमा गएको देखिएको छ । त्यसमा रवि लामिछाने, जीवी राई, छविराज जोशी, कुमार रम्तेलको भूमिका रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सहकारीको बचत अपचलन समितिले सहकारीको पैसा अपचलन गर्ने गोरखा मिडिया नेटवकर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई दोषी किटान गरेर यही कानुनअनुसार कारबाही गर्न भनेको छैन ।

रवि लामिछानेले क्लिन चिट पाएको भन्दै समर्थकहरुले दाबी गरिरहेका बेला संसदीय छानबिन समितिका सभापति थापाले क्लिन चिट नपाएको बताएका छन् । उनले लामिछानेले कानुनको सामना गर्नुपर्ने बताउँदै आएका छ । प्रहरीले समितिको सुझावकै आधारमा छविलाल जोशीलाई पनि यसअघि नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।


क्लिकमान्डु