सहकारी ठगीमा रवि लामिछाने पार्टी कार्यालयबाट पक्राउ, सडक मार्ग हुँदै पोखरा लगियो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने पार्टी कार्यालय बनस्थलीस्थित आफ्नै पार्टी कार्यालयबाट पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो ।

लामिछानेलाई कास्की जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरे लगत्तै प्रहरीले पक्राउ परेको हो । पक्राउ गरेपछि उनलाई प्रहरीले शुक्रबार राति नै सडक मार्ग हुँदै पोखरा लगिएको छ । उनको साथमा रास्वपाका केही नेताहरु समेत सहभागी रहेको पार्टीका सहप्रवक्ता मनिष झाले बताए ।

यसअघि उनले पार्टी कार्यालयमा सम्बोधन गर्दै सम्मानित अदालतप्रति विश्वास र आस्था रहेको बताएका थिए । साथै उनले आफूले कुनै गल्ती नगरेको तर सरकारले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए । यससँगै उनले अदालतबाट न्याय मिल्नेमा आशावादी रहेको र आफू चिन्तित नबनेको पनि बताएका थिए ।

तर पक्राउ पुर्जी जारी भएपछि उनले सरकारप्रति आक्रोश पोख्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए । उनले स्टाटसमा ‘सरकार मरेको’ र आफूहरु जुठोमा परेको लेखेका थिए ।


क्लिकमान्डु