अदालतबाट पक्राउ पुर्जी जारी भएपछि रविले भने: सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो !



काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सरकारविरुद्ध आक्रोश पोख्दै सरकारलाई ‘मरेको’ प्रतिक्रिया दिएका छन् । जिल्ला अदालत कास्कीबाट लामिछानेलाई सहकारी ठगी कान्डमा पक्राउ पुर्जी जारी भएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले सरकारको दिनगन्ती सुरु भएको पनि चेतावनी दिएका छन् । शुक्रबार साँझ उनले सामाजिक सञ्जालमा लेखेर सरकारप्रति आक्रोश पोखेका छन् । लामिछानेले सामाजिक सञ्जालमा लेखेको स्टाटस:

सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !!

तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? तपाईँ विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?

तपाईँ प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने?

तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने? यति गरेपछि भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।

वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईँहरुबाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं।

ठीक छ, म तपाईँहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु । नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाडै देख्ने छ। शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्।

अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर मलाई न्यायलय प्रती आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईँको सभापतिले कसैलाई ठगेको छैन।


क्लिकमान्डु