दुई अर्बपतिको प्रतिस्पर्धा कि ‘लडाइँ’ ?, भारतमा अम्बानीलाई दबाब, एलन मस्कलाई अवसर



भारत सरकारको पछिल्लो निर्णयले एलन मस्कको स्टारलिंकलाई भारतीय बजारमा प्रवेश गर्न सजिलो भएको छ । तर ४८ करोड प्रयोगकर्ताहरु भएको रिलायन्स जियोका मालिक मुकेश अम्बानी असन्तुष्ट बनिरहेका छन् । एलन मस्क र अम्बानीबीच भइरहेको पछिल्लो विवाद प्रतिस्पर्धा हो कि ‘लडाइँ’ ?

एजेन्सी । अमेरिकी अर्बपति एलन मस्क र भारतीय अर्बपति मुकेश अम्बानीबीचको प्रतिष्पर्धा धेरैलाई चासोको विषय बनिरहेको छ । स्टारलिंकलाई विस्तार गरिरहेका मस्कले भारतमा पनि आफ्नो खोजिरहँदा अम्बानीसँग प्रतिस्पर्धा दृश्यमा आएको छ ।

व्यावसायिक प्रतिस्पर्धालाई दुई धनाढ्यले आलोचनामार्फत् ‘लडाइँ’को तहमा पुर्‍याएका छन् । अर्थात् एकले अर्कोलाई रोक्ने र बजारमा प्रभुत्व जमाउने उनीहरुको आकांक्षा देखिन्छ । एलन मस्क भारतीय बजारमा प्रवेश गरेर आफ्नो प्रभाव जमाउन खोजिरहेका छन् भने मुकेश अम्बानी उनलाई रोकेर बजारको प्रभुत्व कायम गर्न चाहन्छन् ।

पछिल्लो समय उनीहरु दुबै एकअर्काबीच आलोचना गरिरहेका छन् । ठीक यसै बेला भारत सरकारले स्याटलाइट ब्रोडब्यान्डका लागि लिलामीको माध्यमबाट नभएर प्रशासनिक तरिकाबाटै स्विकृति दिने घोषणा गरिदिएको छ ।

नरेन्द्र मोदी नेतृत्वको सरकारको यस्तो घोषणाले मस्कको स्टारलिंकलाई ठूलो राहत मिलेको छ भने अम्बानीको रिलायन्स जियोलाई धक्का पुगेको छ । जवकि भारतमा अम्बानीको रिलायन्स जियो सबैभन्दा ठूलो टेलिकम अपरेटर कम्पनी हो । जसका ४८ करोड प्रयोगकर्ताहरु रहेको बतान्छ ।

स्पेस एक्सको एउटा इकाइ स्टारलिंकलाई मस्कले भारतमा लन्च गर्ने तयारी गरे पनि केही वर्षयता बारम्बार कानुनी अवरोध झेल्नु परेको थियो । तर सरकारको पछिल्लो घोषणासँगै भारतीय बजारमा स्टारलिंकको प्रवेश सहज हुने देखिएको छ ।

जवकि मस्कले यसअघि नै स्टारलिंकको स्विकृतिका लागि आवेदन दिएका थिए । स्टारलिंकसँग हजारौं अपरेसनल स्याटलाइट छन् भने रिलायन्सको साथमा ३८ स्याटलाइट मात्रै । त्यो पनि रिलायन्स स्वयंको प्रत्यक्ष नभएर रिलायन्सले सहकार्य गरेको लम्जेम्बर्गको एसइएस एस्ट्रासँग मिलेर ।

भारतीय सरकारको निर्णयले मस्कलाई अवसर, अम्बानीलाई दबाब

भारतमा स्याटलाइट ब्रोडब्यान्ड अनुमतिको विषयलाई लिएर अमेरिकी अर्बपति एलन मस्क र भारतीय अर्बपति मुकेश अम्बानीबीच विवाद भइरहँदा भारत सरकारले प्रशासनिक तरिकाबाट रुपमा स्विकृति दिइने जनाएको छ ।

विश्वको सबैभन्दा धनी उद्यमी एलन मस्क भारतमा आफ्नो कम्पनी स्टारलिङ्कसहित दूरसञ्चार क्षेत्रमा प्रवेश गर्न खोजिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मस्क भारतमा स्याटलाइटको स्विकृतिका लागि नजिक छन् । तर भारतमा उनको प्रतिस्पर्धा मुकेश अम्बानीको कम्पनी रिलायन्स, जियो र भारतीय एयरटेलसँग हुनेछ ।

अम्बानी स्याटलाइट ब्रोडब्यान्डको स्विकृति लिलामीका आधारमा होस् भन्ने चाहन्थे । र यसका लागि उनले लबी पनि गरिरहेका थिए । मस्कको कम्पनी स्टारलिंकले भने प्रशासनिक रुपमा यो प्रक्रिया हुनुपर्ने अडान राखिरहेको थियो । मस्कले लिलामी प्रक्रियाको आलोचना पनि गरेका थिए ।

ब्रोडब्यान्ड स्विकृतिलाई लिएर दुई कम्पनीबीच विवाद उत्पन्न भएपछि सरकारले स्याटलाइट ब्रोडब्यान्डको स्विकृतिका लागि लिलामी नहुने जनाएको हो । दूरसञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले १५ अक्टोबरमा एक कार्यक्रममा भने,’स्विकृतिलाई लिएर अर्बपतिहरुबीच टकराबको अवस्थाका बीच भारत सरकारले स्याटलाइट ब्रोडब्यान्ड स्विकृतिका लागि कुनै लिलामी हुँदैन । स्विकृति भारतीय कानुन अनुसार प्रशासनिक रुपमा दिइनेछ । र यसको मूल्य टेलिकम नियामकद्वारा तय गरिन्छ ।’

दुई अर्बपतिहरुको ‘लडाइँ’

दुई अर्बपति मस्क र अम्बानीबीच विवादको पछाडि प्रमुख कारण थियो यही अनुमतिको विषय । भारतमा स्याटलाइट इन्टरनेट सेवाहरुका लागि अनुमति लिने प्रक्रिया यस्तो विषय हो जुन गत वर्षदेखि नै विवादास्पद बनिरहेको छ । स्याटलाइट इन्टरनेटको यस क्षेत्रमा वार्षिक ३६ प्रतिशत वृद्धिको अनुमान गरिएको छ । साथै २०३० सम्ममा १ अर्ब ९० करोड डलरसम्म पुग्ने अपेक्षा गरिएको छ ।

मस्कको कम्पनी स्टारलिंकको दाबी के छ भने लाइसेन्स वितरणलाई प्रशासनिक प्रक्रिया अनुसार हुनुपर्छ । यसको विपरीत मुकेश अम्बानीको कम्पनी रिलायन्स जियोले समान अवसर प्रदान गर्नका लागि लिलामीको आवश्यक रहेको बताउँदै आएको छ । यसरी दुई प्रतिस्पर्धी कम्पनीहरुको विपरीत पहलबाट के बुझिन्छ भने उनीहरु आपसमा प्रतिस्पर्धा गरिरहेका छन् । र विवादको मुख्य विषय पनि यही हो ।

रोचक त के छ भने भारतीय बजारमा प्रवेश गरिरहेका मस्कसँग भारतीय अर्बपति अम्बानी त्रसित देखिन्छन् । अर्थात् आफ्नो बजार स्टारलिंकले नै प्रभावित पार्नेमा अम्बानी चिन्तित छन् । पछिल्लो समय मस्कसँग उनले सामाजिक सञ्जालमार्फत् नै विवाद गरेकोले पनि यसलाई थप आशंका गर्ने ठाउँमा पुर्‍याउँछ ।

जियोले भारतय कानुनमा यसबारे कुनै प्रावधान नरहेको भन्दै व्यक्तिहरुला स्यााइट ब्रोडब्यान् सेवा कसर दिन सकिन्छ भन्दै प्रश्न उठाउँदै आएको छ।

भारतको निर्णयमा मस्कले के भने ?

एलन मस्कले भने भारत सरकारको निर्णयको खुलेर प्रसंशा गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म स्टारलिंकको तर्फबाट भारतका जनताको सेवा गर्ने पूरा कोसिस गर्नेछु ।’

१३ अक्टोबरमा रोयटर्सले एक रिपोर्टमा उल्लेख गरेको छ-रिलायन्सले भारतीय दूरसञ्चार नियामक प्राधिकरणलाई परामर्श प्रक्रियामा चुनौती दिएको छ । उसले घरेलु स्याटलाइट ब्रोडब्यान्ड वितरणलाई लिलामी गर्ने माग गरेको थियो । साथै प्रशासनिक रुपमा यसको स्विकृति दिने प्रक्रिया रोक्न रिलायन्सले लबी गरिरहेको थियो । यस्तै उसले परामर्श प्रक्रियालाई फेरि सुरु गर्न आग्रह पनि गरेको थियो ।

मस्कले भने रिलायन्सको यस्तो प्रयासमा आपत्ति जनाउँदै संयुक्त राष्ट्रको एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) समक्ष स्याटलाइट अनुमतिको लागि आग्रह गरेका थिए । सोही अनुरुप भारत सरकार आईटीयूको प्रक्रिया पालना गर्दै लिलामी नगर्ने अवस्थामा पुगेको हो ।

त्यसो त भारत स्वयं पनि आईटीयूको सदस्य राष्ट्र हो । यसको सन्धिमा भारतले पनि हस्ताक्षर गरेको छ । उक्त सन्धिले स्याटलाइट अनुमति दिने विषयलाई तर्कसंगत, कुशल र आर्थिक अवस्थाको आधारमा तय गर्नेछ ।

ग्लोबल स्याटलाइट ग्रुप युटेलसेटको सहअध्यक्ष तथा भारतीय एयरटेलका प्रमुख सुनिल मित्तलले पनि १५ अक्टोबरमा लिलामीको तरिकामा समर्थन जनाएका थिए । मस्कको स्टारलिंक र अमेजन डट कमको कुपर जस्ता अन्य सरोकार पक्षहरु प्रशासनिक रुपमा नै स्विकृति वितरण हुनुपर्ने पक्षमा छन् ।

यसरी २ अर्बभन्दा धेरै जनताहरु रहेको देश भारतलाई दुई ठूला अर्बपतिहरुले आफ्नो बजार बनाउन प्रतिस्पर्धा गरिरहेका छन् । भारत सरकारको निर्णयले स्टारलिंकलाई भारतीय बजारमा प्रवेश दिने पक्का जस्तै भएको छ । तर पछिल्लो समय मस्क र अम्बानीको विवादले आगामी दिनमा अम्बानीलाई थप दबाब सिर्जना हुने देखिन्छ भने एलन मस्कलाई सेवा विस्तार गर्ने चुनौती ।


क्लिकमान्डु