पशुपतिको जग्गामा मारवाडी सेवा समितिले गिद्दे नजर लगायो: पशुपति विकास कोष



काठमाडौं । गौशाला धर्मशालाको विषयलाई लिएर पशुपति विकास कोष र मारवाडी सेवा समितिबीच विवाद चुलिएको छ । केही समययता दुई पक्षबीच आरोप प्रत्यारोप र विरोध प्रदर्शन चलिरहँदा मंगलबार पशुपति विकास कोषले पत्रकार सम्मेलन गर्दै मारवाडी सेवा समितिलाई धर्मशाला सञ्चालनको अधिकार नभएको जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार कोषले काठमाडौं महानगरसँग गत असोज २२ गते सहमति गरेर महानगरलाई व्यवस्थापनको अधिकार दिएको जनाएको छ । साथै मारवाडी सेवा समितिले उक्त धर्मशाला भोगचलन गर्ने क्रममा गिद्दे नजर लगाएको पनि कोषको आरोप छ ।

तर पशुपतिनाथको जग्गा जोगाउन कोष सिंगो रुपमा उभिएको चेतावनी दिएको छ । पत्रपत्रिकामा विज्ञापन प्रकाशन गरेर वा शक्ति केन्द्र धाएर मारवाडी सेवा समितिले जग्गा हत्याउने षड्यन्त्र गरेको कोषको आरोप छ ।

त्यस क्षेत्रमा ९ रोपनी भन्दा बढी जग्गामा मारवाडी सेवा समितिले भोगचलन गर्दै आएको छ । तर कोष र महानगरबीच सहमति भएर उक्त धर्मशाला महानगरलाई जिम्मा लगाएपछि मारवाडी सेवा समिति पनि आक्रोशित बनेको छ । केही दिनयता समितिका पदाधिकारीहरुले प्रदर्शन गर्दै आएका छन् ।

प्रदर्शनको क्रममा प्रहरीसँग झडप समेत भएको छ । तर कोषले भाडा पुनरावलोकन गर्नुपर्ने र समितिले भाडा पनि नतिरेको जस्ता आरोप लगाउँदै धर्मशालामा समितिले दाबी गर्न नसक्ने जनाएको हो ।

मारवाडी सेवा समितिले भने मोहियानी हक समेत लाग्ने र आफ्नो सहमति बिना महानगरसँग सहमति गर्नु जायज नभएको जनाएको छ । साथै यस मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ समेत नआइसकेको अवस्थामा महानगरलाई दिनु उचित नहुने समितिको भनाइ छ ।


क्लिकमान्डु