राजधानीमै बन्छ नक्कली घ्यू, खाद्य प्रविधि विभागद्वारा २२ दिनमा १०९१ खाद्य उद्योग र व्यवसायमा अनुगमन



काठमाडौं । काठमाडौं उपत्यकामै नक्कली घ्यू बन्ने गरेको रहस्य फेला परेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित बिशेष अनुगमनको क्रममा यस्तो रहस्य फेला पारेको हो ।

अनुगमनको क्रममा ललितपुरस्थित प्रशंसा कलेक्शन एण्ड रिफाईन प्रशोधन केन्द्रबाट ९५ किलो नक्कली घ्यू बरामद गरी नष्ट गरेको छ । नक्कली घ्यू उत्पादन गर्ने उक्त उद्योगमा विभागले सिलवन्दी गरेको छ ।

विभागले चाडपर्व लक्षित बिशेष अनुगमनको क्रममा पछिल्लो २२ दिनको अवधीमा विभिन्न प्रकारका १ हजार ९१ वटा विभिन्न खाद्य उद्योग र व्यापारिक प्रतिष्ठानमा अनुगमन गरी कारवाही प्रक्रिया अघि बढाएको छ ।

विभागका महानिर्देशक संजिवकुमार कर्णका अनुसार असोज १ गतेदेखि २२ गतेसम्म गरिएको यस्तो विशेष अनुगमन गरिएको थियो । अनुगमनको क्रममा विभागले ५२४ खाद्य बजार, २६९ खाद्य उद्योग र २९८ होटल तथा रेस्टुरेन्टमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा विभागले मोवाइल फुड ल्याव भ्यानसमेत परिचालन गरेको थियो । यसबाहेक देशभर रहेको विभागको विभिन्न कार्यालयबाट समेत उद्योग र व्यापारिक प्रतिष्ठानको अनुगमन गरिएको थियो ।

कर्णका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार अनुगमनको क्रममा १५७ वटा नमुना संकलन गरिएको छ । खाद्य स्वच्छता सर्भिलेन्सको क्रममा १५१ वटा नमुना संकलन गरिएको थियो ।

यस्तै अनुगमन पश्चात ३५६ वटा नमुनाको विश्लेषण गर्दा ७ नमुनाको प्रतिवेदन प्रतिकुल पाइएको छ । अनुगमनको क्रममा उपभोग्य मिति समाप्त भएको, पूर्ण लेबल विवरण उल्लेख नभएको र खाद्य अनुमतिपत्र नलिएका उद्योग र व्यापारिक प्रतिष्ठानबाट २३ लाख ९६ हजार रुपैयाँबराबरको विभिन्न खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ ।

मोवाइल खाद्य प्रयोगशाला भ्यान सञ्चालनमा आएपछि प्रशोधित दूध, तेल, प्रशोधित पिउने पानी, घ्यू, पेय पदार्थ लगायत विभिन्न खाद्य र पेयजन्य पदार्थ गरी ९० वटा नमूनाहरुको स्थलगत परीक्षण गरिएको थियो ।

अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ विपरित कार्य गरेका करिब ७ वटा खाद्य व्यवसायीमाथि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको छ ।

अनुगमनको क्रममा ललितपुर २३ धापाखेलस्थित पचली भैरव पानी प्रशोधन उद्योगमा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ विपरित उत्पादन गरेकाले ऐनअनुसार नमूना संकलन गरी उत्पादनमा रोक लगाइनुका साथै प्रशोधित पिउने पानी फिलिङ्ग सिलवन्दी गरिएको छ ।

यसैगरि धापासी ६ स्थित सनराइज वेभेरेज नेपाल प्रालिमा अनुगमनको क्रममा अनुमतिपत्र नवीकरण नभएको पाइएको छ । उक्त कम्पनीले अर्को कम्पनीको नाम उल्लेख भएको जारमा पानी भरेर (फिलिङ्ग) विक्री गरेको पाइएको हुँदा प्रशोधन कक्षमा सिलवन्दी गर्नुका साथै अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको छ ।

अनुगमनको क्रममा नयाँ बानेश्वरस्थित अर्जुन डेरी प्रालिमा सिलवन्दी गरिएको छ । उक्त डेरीबाट ढुसी लागेको बटर २४० किलो, २५ किलो चिज र ४४ किलो जफत गरि नष्ट गरिएको छ ।

अनुगमनकै क्रममा सिनामंगलस्थित प्राप्ति फुड प्रडक्ट्सबाट न्युन स्तरको ८० किलो घ्यू र ३० किलो नौनी पनि बरामद गरी नष्ट गरिएको छ ।


क्लिकमान्डु