खाना बनाउन केपी ओलीभन्दा बढी जाँगर चलाउँथे माधव नेपाल, एकैपल्टमा ७ वटा अण्डा पनि खाएका थिए



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई नजिकबाट चिन्नेहरुलाई थाहा छ, खानपानमा उनको निश्चित नियम छ- ‘चिल्लो, मसला कम, मदिरा र पिरो जिरो । समग्रमा स्वस्थकर खाना ।’

ब्राह्मण परिवारमा जन्मिएका उनी सानैदेखि शाकाहारी थिए । उनकी आमाको भान्सामा मासु खान मात्रै हैन पकाउन पनि कसैलाई अनुमति थिएन । तर, उनका भिनाजु मासुका पारखी थिए । उनै हुन् माधव नेपाललाई तामसी बनाउने । ‘घरमा त मलाई मासुको स्वाद नै थाहा थिएन । भिनाजुलाई मासु मन पर्ने । मलाई पनि खसीको मासु खान सिकाउनुभयो ।’ त्यसपछि विस्तारै माधव नेपाल पनि मासु खाने भए ।

माधव नेपाल चाडवाडलाई सरल किसिमले मनाउनुपर्ने धारणा राख्छन् । दशैं लगायतका चाडवाडहरु भड्किलो गरी मनाउन नहुने उनको भनाइ छ ।

यसबीचमा उनका केही निजी अनुभव वा भोगाइहरु निकै रोचक छन् । खानपानको विषयमा उनले आफ्ना अनौठा र रमाइला अनुभव पहिलो पटक क्लिकमान्डुसँग सेयर गरेका छन् ।

राजनीतिमा सक्रिय भएपछिका प्रारम्भिक दिनहरु उनले सम्झिए, ‘युवा अवस्थामा धेरै भात खाइन्थ्यो । १ थाल भातले पनि पुग्दैनथ्यो । २/३ थाल नै भात रित्याइन्थ्यो । एक पटक मुकुन्द न्यौपानेसँग म बनारस गएको थिएँ । त्यहाँ एक जना पुराना कम्युनिस्ट पार्टीका प्रसिद्ध नेताको घरमा हामी गयौं । उहाँले मेहनतले खाना पकाएर हामीलाई खुवाउनुभयो । तर असाध्यै थोरै । ती नेताले सानो कसौंडीमा पकाएको खाना त आधा पेट पनि भएन । आफूलाई २/३ थाल चाहिने । उहाँकोमा खाउन्जेल अघाउने गरी खानै पाइएन ।’

खानाको सन्दर्भमा उनले आफ्ना पुराना सहयोद्धा तथा हालका प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि एउटै कोठामा खाना पकाएर सँगै खाएको सुनाए । त्यसबेला केपी ओली र आफू दुबै जना पकाउन खासै जाँगर नगर्ने गरेको उनले सम्झिए । ‘तपाईँ र केपी ओली कसले मिठो पकाउनुहुन्थ्यो ?’ भनेर सोध्दा नेपालले हाँसेर भने, ‘केपीजीले खासै मिठो पकाउनुहुन्नथ्यो । त्यसबेला कोठामा बस्दा मेरो भाइले धेरै खाना पकाउँथ्यो ।’

यससँगै उनले एकीकृत समाजवादीकै नेता केशवलाल श्रेष्ठसँग एक पटक कसले धेरै अन्डा खाने भनेर प्रतिस्पर्धा नै गरेका थिए । एक जना आफन्तको कोठामा केशवलाल र माधव नेपालबीच कसले धेरै अन्डा खाने भनेर गरिएको त्यो प्रतिस्पर्धा निकै रोचक र अनौठो छ । ‘केशवलालजी र मैले कसले धेरै खन्डा खाने भनेर प्रतिस्पर्धा नै गरेका थियौं । मलाई सम्झना छ- केशवलालले मैलेभन्दा एउटा धेरै अन्डा खानुभएको थियो ।’

पछिल्लो समय माधव नेपाल स्वास्थ्यका दृष्टिले खानपानको आनीबानीलाई कायम गर्छन् । स्वस्थकर खाना नमिठो भए पनि खाने उनको बानी छ । जस्तै, भिँडी, सागपातहरु लगायत । अचेल उनलाई स्वास्थ्यको हिसावले खसीको मासु खासै खान रुची छैन । मसला, चिल्लो कम । पिरो त बन्द । यसवाहेक भान्सामा छिरेर खाना पकाएको उनलाई धमिलो पनि सम्झना छैन । युवावस्थामा कलेज पढ्ने बेलाबाहेक दशकौंदेखि नै उनले भान्सामा छिरेर पकाएका छैनन् ।

एउटा उनको यस्तो बानी छ, उनको भान्सामा खाने कुरा फाल्न मनाही छ । उनी आफू पनि सितिमिती खाने कुरा फाल्दैनन् । यतिसम्म कि पाहुनालाई पनि उनी सकेसम्म खाना फाल्न दिँदैनन् । ‘म घरमा आउने पाहुनालाई पनि खाना फाल्न दिन्नँ,’ नेपालले भने । खानपान र दशैं अनुभवबारे यस्तै रोचक र अनौठा आनीबानीबारे नेता नेपालले खुलेर बोलेका छन् ।

प्रस्तुत छ, पूर्वप्रधानमन्त्री माधव नेपालसँग खाना र दशैं सम्झनाबारे क्लिकमान्डुका लागि सोभित थपलियाले गरेको कुराकानी:


सोभित थपलिया