६ कक्षा पढ्दादेखि खाना पकाउन सुरु गरें, अगेनामा मासु पोलेर खान्थ्यौंः प्रकाशशरण महत (भिडियो)



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत ६ कक्षामा पढ्दादेखि खाना पकाएको अनुभव सुनाउँछन् । दशैंभन्दा बाल्यकालमा खेलेको पिङ,परिवारको भेटघाट सम्झिने महतलाई त्यस बखत मावलमा मिल्ने दक्षिणाको सम्झना आउँछ ।

१८ वर्षको उमेरसम्म माछा मासु खाने गरेका महत २०५३ सालमा अमेरिका पढ्न गएपछि अण्डा समेत खान छोडेको बताउँछन् । घरमा बसेर ५ कक्षासम्म नुवाकोटमै पढ्दा खाना नपकाए पनि अगेनामा पोलेर मासु खाएको सम्झना महतलाई छ ।

६ कक्षा पढ्न काठमाडौं आएपछि खाना पकाउन सिकेको अनुभव सुनाउने महत अमेरिकामा पढ्दा समेत किचेनको काम नियमित गरेको बताउँछन् । अमेरिकामा स्नातकोत्तर र पिएचडी सक्काएर नेपाल फर्किएपछि भने नियमित किचेनमा गएको सम्झना महतलाई छैन । अहिले पनि कामचलाउ परम्परागत नेपाली परिकार पकाउन सक्ने महत विदेश जाँदा नयाँ-नयाँ परिकार चाख्ने खाने भन्दा पनि नयाँ-नयाँ ठाउँ जाने आफ्नो रुची भएको बताउँछन् ।

दाल भात तरकारी, रोटी जस्ता परम्परागत खाना बाहेक नुडल्स, पास्ता रुचाउने महतसँग अमेरिका हुँदा १ वर्ष एक्लै सानी छोरीलाई हेरचाह गरेको अनुभव छ । दशैंमा नाता अनुसार दक्षिणा दिने गरेको बताउने महत निश्चित प्रयोजनका लागी विगतमा देउसी खेलेको बताउँछन् ।

प्रस्तुत छ, खानामा सामान्य टिप्पणी गर्ने गरे पनि धेरै खोट देखाउन बानी नभएको बताउने नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. महतसँग दशैं र तिहार सम्झना, खानपान र भान्साका रुचीका विषयमा क्लिकमान्डुका लागि शरद ओझाले गरेको संवादः


शरद ओझा