बाढीपहिरो पीडितलाई बीवाईडी वितरण साइमेक्स इंकको ५१ लाख सहयोग



काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढीपहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँ सहयोग गरेको छ ।

एक कार्यक्रमबीच शुक्रबार साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे । यस अवसरमा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठ समेत थिए ।

केही दिनअघि आधिकारिक रुपमा फाउन्डेसन स्थापनको घोषणा गरेपछि यो सीबीसीएफको पहिलो योगदान हो । जसले साइमेक्स र बीवाईडीको संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको साझा प्रतिबद्धतालाई दर्शाउँछ । शिक्षा, स्वास्थ्य सुरक्षा, दिगो विकास र प्रकोप राहत जस्ता पहलमा केन्द्रित भई समुदायमा केही योगदान गर्ने उद्देश्यका साथ फाउन्डेसन निर्माण गरिएको थियो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेर साइमेक्स इंकले यो प्राकृतिक विपद पीडितहरुसँग ऐक्यबद्धता प्रकट गर्न र हाल भइरहेको उद्धार तथा राहत कार्यका लागि आवश्यक सहयोग विस्तार गर्न चाहने जनाएको छ ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘हामी साइमेक्स र बीवाईडी मिलेर नेपाल र यहाँका जनतालाई आवश्यकता अनुसार सहयोग गर्न प्रतिबद्ध छौं । हामी विनाशकारी बाढी पहिरोबाट प्रभावितहरुलाई साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनमार्फत तत्काल राहत र दीर्घकालीन सहयोग प्रदान गरी यो क्षेत्रमा अर्थपूर्ण परिवर्तन गर्ने प्रयासमा छौं ।’


क्लिकमान्डु