बाढी पहिरोबाट नागरिकको घर, सम्पत्तिमा भएको क्षतिको दाबी भुक्तानी छिटो गर्न बीमा प्राधिकरणको निर्देशन



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट नागरिकको घर, सम्पत्ति तथा संरचनाहरूमा भएको क्षतिको दाबी भुक्तानी यथासम्भव छिटो गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।
बाढी तथा पहिरोबाट भएको क्षतिको बीमा दाबीलाई सरलीकरण गर्ने र छिटो दाबी भुक्तानी गर्ने विषयमा नेपाल बीमा प्राधिकरणमा आयोजित निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा सिलवालले यस्तो निर्देशन दिएका हुन् ।
बीमा कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन् भन्ने भ्रमलाई हटाउन पनि बीमा कम्पनीहरूले छिटो दाबी भुक्तानी दिनुपर्ने बताए ।
अध्यक्ष सिलवालले हाल विशेष परिस्थिति भएकाले सामान्य अवस्थामा आवश्यक पर्ने दाबी भुक्तानी सम्बन्धी कागजातहरू मध्ये प्रहरी प्रतिवेदन र सम्बन्धित निकायको सिफारिश लगायतका कागजातहरू आवश्यक नपर्ने व्यवस्था मिलाइने, अन्य कागजातहरूको सूची समेत छोटो पारिने र बीमा सर्भेयरहरूलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिने जानकारी दिए ।
अध्यक्ष सिलवालले हालको विशेष परिस्थितिमा बीमा दाबी विस्तारै थपिँदै जानसक्ने र बाढी तथा पहिरोका कारण बीमालेख हराएको पनि हुनसक्नेतर्फ बीमा कम्पनीहरूले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले हालैको बाढी र पहिरोको कारण क्षति भएका जलविद्युत कम्पनी, गोदाम, पसल, मोटर, मोटरसाइकल सम्बन्धी बीमा दाबीहरू बीमितहरूबाट धमाधम आउन थालेको जानकारी दिए ।
उनीहरूले हाल विशेष परिस्थिति सिर्जना भएकाले बीमा दाबी प्रक्रियालाई सरलीकरण गर्न, निश्चित दाबी भुक्तानीका लागि न्यून कागजात भए हुने व्यवस्था गर्न र सर्भे प्रतिवेदनलाई छिटोछरितो तुल्याउनका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरणसँग आग्रह गरे ।


क्लिकमान्डु