माथिल्लो तामाकोसी हाइड्रोमा बाढी: कन्ट्रोल रुमको भवन भत्किँदा ४ जना बेपत्ता



काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाकोमा बाढीले भत्काउँदा ४ जना बेपत्ता छन् । आयोजनाको कन्ट्रोल रुममा बाढीले पूर्णरुपमा क्षति पुर्‍याउँदा ४ जना बेपत्ता भएका हुन् ।

दोलखाको बिगु गाउँपालिकाको लामा बगरमा रहेको जलविद्युत आयोजनामा पहिरो र बाढीका कारण दुई तले कन्ट्रोल रुम भवन भत्किएको थियो । भवनमा रहेका दुई जना माथिल्लो तामाकोसीका करारका कर्मचारी र २ जना नेपाली सेनाका जवान बेपत्ता भएका हुन् । कन्ट्रोलमा रुममा बिहान १० बजे सिफ्ट चेन्ज भएको थियो । ११ बजे आएको पहिरो र बाढीले कन्ट्रोल रुम पूर्ण रुपमा क्षति ग्रस्त भएको हो ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमका अनुसार ४ जनाको अवस्था अज्ञात रहेको छ  । ‘बाढीले दुई तले भवन कोप्ल्याप्स भएको छ । ४ जना अज्ञात छन्,’ उनले भने, ‘नेपाली सेनाको हेलिकप्टर चरिकोट एयरपोर्टबाट जाने तयारी गरिरहेको छ । जाने ठाउँ भने छैन ।’

सुरुमा गार्ड पनि हराएको आशंका गरिएको थियो । तर गार्ड भने त्यहाँ नपरेको पुष्टी भएको छ । माथिल्लो तामाकोसी विद्युत् आयोजनाको बालुवा थिग्रयाउने पोखरी बालुवा र गेग्रेनले भरिएको छ । बालुवा र गेग्रेन हटाउन तामाकोसी-५ जलविद्युत आयोजनासँग समेत सहयोग मागिएको बताए ।


क्लिकमान्डु