झ्याप्ले खोलामा भेटियो थप ३ शव, पुरिएको बस निकालिँदै



काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको नागढुंगास्थित झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला परेको छ ।

फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रुको हुन सक्ने अनुमान प्रहरीको छ ।
उक्त स्थानमा पहिरो पन्छाउने क्रममा आइतबार बिहान झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो ।

बस निकाल्ने काम भइरहँदा तीनवटा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन ।

झ्याप्ले खोलामा हिजो दुईवटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।

शनिबार बिहान पहिरो जाँदा झ्याप्ले खोलामा माइक्रो बसहरु पुरिएका थिए । पहिरोबाट निकालिएको एउटा माइक्रो बसबाट ५ वटा शव निकालियो भने अर्को बसबाट ९ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका दुईवटा माइक्रो बसमध्ये एउटा माइक्रोको नम्बर लु १ ज ४५७८ खुले पनि अर्को यात्रुवाहक माइक्रोको नम्बर खुलेको छैन । दुबै माइक्रो बस र बसहरु एक्साभेटरको सहायताले निकालिएको थियो । दुई वटा माइक्रोबसबाट यात्रु निकालिए पनि उनीहरुको पहिचान भइसकेको छैन ।


क्लिकमान्डु