बाढीका कारण २ अर्ब बढीको सडक पुल क्षतिग्रस्त, २३ राजमार्ग अवरुद्ध



काठमाडौं । दुई दिनदेखिको निरन्तर अबिरल वर्षाका कारण आएको बाढीले २ अर्ब रुपैयाँ बढी सडक तथा पुलमा क्षति पुर्‍याएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माका अनुसार २ अर्ब रुपैयाँभन्दा बढीको सडक तथा पुलमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ  । ‘विवरण संकलन भइरहेको छ । २ अर्ब बढीको संरचनामा क्षति पुगेको छ । तामाकोसी र भोटेकोसीको बाध खोल्दा पुलहरुमा ठूलो क्षति पुगेको छ,’ उनले भने, ‘हामीले विवरणहरु संकलन गरिरहेका छौं ।’

मन्त्रालयका अनुसार  अविरल वर्षातका कारण देश भरका ८० वटा राष्ट्रिय राजमार्गहरु मध्ये २३ वटा राजमार्गहरुका विभिन्न ६४ स्थानमा राजमार्गहरु अवरुद्ध भएका छन । देशको राजधानी जोड्ने लाइफ लाइनका रुपमा रहेको मुख्य राजमार्ग नागढुंगा- नौविसे- मुग्लिन सडकको धादिङको कमेरे, मलेखु, सितलाबजार लगायतका स्थानका अबरोध हटाई सवारी आवागमन सञ्चालनमा आएको छ ।

 नागढुंगा सुरुङमार्गको पश्चिम पोर्टल तर्फ रोकिएका यात्रुवाहक तथा मालवाहक सवारीसाधानहरुलाई निर्माणाधिन सुरुङमार्गको सुरुङ प्रयोग गरी काठमाडौं भित्र्याउने कार्यमा सहजीकरण गरिएको छ । मुग्लिन पोखरा सडकखण्ड तथा मलेखु मुग्लिन नारायणघाट सडकखण्डका पहिरोहरु पन्छाई सडक सुचारु अवस्थामा राखिएको छ।

विपी राजमार्गको भुरुङ्गे, माथिल्लो सिस्नेरी, माम्ती, नेपालथोक, मङ्गगलटार लगायतका विविन्न स्थानमा भएका अवरोधलाई हटाउने प्रयास भइरहेको छ । पुष्पलाल मध्यपहाडी राजमार्गको सिन्धुलीको रिठ्ठावोट, फिक्कल, कुखुरेटार र खोटाङ्गको खोक्सेली लयायतका स्थानमा भएको अवरोधलाई छिट्टै खुलाउने तर्फ प्रयत्न भइरहेको छ ।

त्यसै गरी मन्त्रालयका अनुसार कान्तिराजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग, मिर्चैया कटारी घुर्मी, शहिद मार्ग रोल्पा, भेरी कोरिडोर, सालझण्डी सन्धीखर्क लगायतका सडकका विभिन्न स्थानमा आएका पहिरोलाई हटाई छिट्टै यातायात सुचारु गर्ने तर्फ भर मग्दुर प्रयास भइरहेको छ।

साथै मेची राजमार्गको हेवा खोलाको वेलिबृज र अरनिको राजमार्गको लार्चा स्थित वेलिबृज पुर्ण रुपमा वगाई आवागमन अवरुद्ध भएको छ । दोलखा र रामेछाप जिल्लालाई तराईका जिल्ला संग जोड्ने लाइफ लाइनको रुपमा रहेको खुर्कोट स्थित सुनकोशी नदी पुलको बाँयातर्फको स्पान पुर्ण रुपमा क्षति भएको छ । क्षति भएका उल्लेखित स्थानमा यथाशक्य छिटो वेलिबृज जडान गरी यातायात सुचारु गर्ने प्रयत्न गरिएको मन्त्रालयका अधिकारीहरुको दाबी छ ।

राष्ट्रिय राजमार्गमा भएका अवरोधहरु हटाउने कार्यमा सडक विभागका हेभि मेशिन तथा जनशक्तीहरु पुर्ण क्षमतामा परिचालन भएको छ । नपुग मेशिनहरु भाडामा समेत लिई छिटो भन्दा छिटो अवरुद्ध राजमार्गहरु खुलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभाग अहोरात्र खटिइरहेको मन्त्रालयले जनाएको छ  ।


क्लिकमान्डु