ललितपुरमा ४ जनाको मृत्यु, ९ जना वेपत्ता, महाङ्कालमा प्रहरी चौकी बग्यो



ललितपुर । अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छ भने गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–१० का वडध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र आठ वर्षीया बालिकाको मृत्यु भएको छ । गोदावरी–३ का वडाध्यक्ष सानुराजा घिमिरेले गोदावरी–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको जानकारी दिए । उनका अनुसार गोदावरी कुण्ड नजिकैको घर पहिरोको उच्च जोखिममा रहेको छ ।

महाङ्काल गाउँपालिका–३ मा तीन वटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महाङ्काल–३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले बताए ।

‘वैतर्णीधाम मन्दिर र प्रहरी चौकी बगाएको छ, चौकीका सवारीसाधनसहित तीन वटा घर पनि बगेका छन् । त्यहाँ पाँच जना थिए । उनीहरु सम्पर्क छैनन्’, उनले भने । प्रहरीहरु भने सुरक्षित स्थानतर्फ गएको उनले बताए ।

बागमती गाउँपालिका–६ आश्राङमा एउटा गोठ बगाउँदा १६ वटा पशुचौपाया बगाएको वडाध्यक्ष नारायण भोम्जनले जानकारी दिए । ‘हालसम्म मानवीय क्षति भएको छैन’, उनले भने ।

बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ । ‘बागमती पुलमा क्षति भएको छ, खानीखोला हाइड्रोपावर डुबानमा परेको छ, बागमती ३ नं वडा कार्यालय जोखिममा छभने वडा नं ५ का रणबहादुर दर्लामीको घर खोलाले बगाएको छ ।’

त्यस्तै ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन् ।


क्लिकमान्डु