दुई महिनामा १६ सय ईभी भित्रिए, गत वर्षभन्दा १७८% आयात बढ्यो



काठमाडौं । नेपालमा विद्युतीय गाडी (ईभी) आयात गत आर्थिक वर्षको दोस्रो महिनाको तुलनामा चालु आवको सोही अवधिको तुलनामा १७८.३९ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ पहिलो दुई महिनामा १ हजार ६०२ युनिट ईभी (कार, जिप र भ्यान) आयात भएको भन्सार विभागले जनाएको छ । गत आव सोही अवधिमा ८ सय ९८ युनिट ईभी आयात भएको विभागको तथ्याङकमा उल्लेख छ । पछिल्लो समय ईभीमा आकर्षण निकै बढ्दो छ ।

साउन महिनामा ३८१ युनिट र भदौमा १ हजार २२१ युनिट ईभी आयात भएको छ । गत आव साउनमा ११० र भदौमा ७८८ युनिट ईभी आयात भएको थियो । यो वर्ष नाडा अटो शो लगायतका कारण ईभीको आयात बढेको बताइएको छ ।

नेपालमा भित्रने ईभीमा ठूलो हिस्सा चिन रहेको छ । १ हजार ६०२ वटा ईभी आयात हुँदा चीनबाट मात्रै १ हजार १२५ युनिट आयात भएको छ । यस्तै भारतबाट ४७५ युनिट आयात भएको छ । नेपालमा ईभी अमेरिका, जर्मनबाट समेत आयात हुने गरेको छ । नेपालमा आयात हुने ईभीमा ठूलो हिस्सा चिनको रहेको छ ।

भदौ मसान्तसम्म ५० किलोवाटसम्म मोटर क्षमता भएका ५६० र ५१ देखि १०० किलोवाट मोटर क्षमता भएका ९३८ युनिट ईभी आयात भएका छन् । यस्तै १०१ देखि २०० किलोवाट मोटर क्षमता भएका ९९ युनिट, २०१ देखि ३०० किलोवाट मोटर क्षमता भएका ३ र ३०० किलोवाटभन्दा माथि मोटर क्षमता भएको २ युनिट ईभी आयात भएको विभागले जनाएको छन् ।

चालु आवको दुई महिनामा ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ ईभी आयात हुँदा राज्यले २ अर्ब ३१ करोड २२ लाख ४ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । सरकारले चालु आवको आर्थिक विधेयक मार्फत ईभीमा भन्सार र अन्तःशुल्क समेत गरी १० प्रतिशत कर बढाएको छ । सरकारले कर बढाए पनि ईभीप्रतिको आकर्षण भने नघटेको तथ्याङ्कले देखाएको छ ।


क्लिकमान्डु