मालिका गाउँपालिकामा विपन्न नागरिकको निःशुल्क बीमा



म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । विपन्न नागरिकको स्वास्थ्योपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्न लागेको हो ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकाका साथै विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताए ।

उनका अनुसार पालिकाले विपन्न नागरिकका लागि रु ३० लाख र महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमाका लागि तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस वर्ष गाउँपालिकाले नौ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको छ । विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रमबाट चार हजार पाँच सय जना लाभान्वित हुने पालिकाले जनाएको छ । वडा कार्यालयबाट अहिले विपन्न नागरिकको विवरण सङ्कलन भइरहेको छ ।

वडा कार्यालयमा प्राप्त हुन आउने निवेदनमा गाउँ कार्यपालिकाको बैठकबाट छनोट गरेर एक वर्षको लगानीमा स्वास्थ्य बीमा गरिने गाउँपालिकाले जनाएको छ ।

पाँच जनाको परिवारले वार्षिक तीन हजार पाँच सय रुपैयाँ तिरेपछि एक वर्षसम्मलाई एक लाख रुपैयाँसम्मको उपचार सेवा पाउनेछन् । यस्तै पाँच जनाभन्दा बढीको परिवार भएमा प्रतिव्यक्ति सात सय रुपैयाँ थप हुनेछ भने उनीहरूले थप २० हजार रुपैयाँ बराबरको उपचार सेवा पाउनेछन् ।


क्लिकमान्डु