इजरायली हवाई आक्रमणबाट लेबनानमा झण्डै ५ सय मारिए, १ हजार ६ सय घाइते
एजेन्सी । इजरायलले लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गर्दा झण्डै ५ सय जना मारिएका छन् । १ हजार ६ सय मानिस घाइते भएका छन् ।
झण्डै २ दशकयताको विवाद र युद्धको बीचमा यो आक्रमणलाई सबैभन्दा घातक भनिएको छ । पछिल्लो हवाई आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ ।
लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादका अनुसार मृत्यु हुनेमा ३५ बालबालिका र ५८ जना महिलाहरु छन् । र १ हजार ६ सय ४५ जना घाइते भएका छन् । तर घाइतेमध्ये सुरक्षाकर्मी र आम नागरिक कति छन् भन्ने यनिन भइसकेको छैन ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायलले हिजबुल्लाहका कार्यकर्ताहरुलाई लक्षित गर्दै आक्रमण गरिरहेकाले ती क्षेत्रमा रहेका आम मानिसहरुलाई घर छोड्न पनि चेतावनी दिएका छन् ।
साथै इजरायलले लेबनानका नागरिकहरुसँग युद्ध नगरेको तर हिजबुल्लाह र इरान समर्थित समूहहरुलाई लक्षित गरेको पनि नेतान्याहुले बताएका छन् ।
इजरायली आक्रमण तीब्र भएपछि कतिपय स्थानका आम नागरिकहरु पनि घर छाडेर सुरक्षित स्थानतर्फ गएका छन् । इजरायली आक्रमणका बीच लेबनानका हजारौं परिवारहरु सुरक्षित स्थानका लागि विस्थापित भएका छन् । इजरायलले लेबनानका आम नागरिकहरुलाई फोन तथा म्यासेज गरेर घर छाडेर सुरक्षित स्थानमा जान पनि चेतावनी दिँदै आएको छ ।
इजरायली आक्रमणको जवाफी आक्रमणको रुपमा हिजबुल्लाहले पनि इजरायलतर्फ आक्रमण गरिररहेको छ । तर इजरायली आक्रमणबाट लेबनानमा तुलनात्मक रुपमा बढी क्षति भएको बताइएको छ ।
यसैबीच इजरायली सेनाले आफूहरुले नयाँ चरणको युद्धको तयारी गरिरहेको चेतावनी दिएको छ । अर्कोतर्फ इजरायललाई इरानले पनि चेतावनी दिँदैआएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने युद्धको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै लेबनानलाई अर्को गाजा बनेको देख्न नचाहेको प्रतिक्रिया दिएका छन् ।
हिजबुल्लाहले भने आफू हमासको समर्थनमा काम गरिरहेको र गाजा क्षेत्रमा युद्धविराम नहुन्जेलसम्म युद्ध नरोक्ने चेतावनी दिएको छ । तर हिजबुल्ला र हमास दुबै समूहलाई इरानले समर्थन गर्दै आएको छ । साथै यी दुई समूहलाई इजरायल, बेलायतसहित अन्य केही देशहरुले आतंकवादी संगठनको रुपमा व्यवहार गरिरहेका छन् ।