रविलाई पक्राउ गर्न नहुने भन्दै पोखरामा रास्वपा कार्यकर्ताको विरोध प्रदर्शन



काठमाडौं । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्न लागेको भन्दै रास्वपाका कार्यकर्ताहरुले पोखरामा विरोध प्रदर्शन गरेका छन् ।

सोमबार पोखरा सहिद चोकमा रास्वपा गण्डकीका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि देखाएका छन् ।

रास्वपाका सभापति लामिछानेसहित केन्द्रीय नेताहरुले भने आइतबार राति नै पार्टी कार्यालयमा भेला गरेर सरकारको विरोध र नाराबाजी गरेका थिए ।

सरकारले लामिछानेमाथि षड्यन्त्र गर्दै पक्राउ गर्न लागेको भन्दै त्यसको विरोधमा रास्वपाका कार्यकर्ताहरु काठमाडौंस्थित केन्द्रीय कार्यालयमा राति अबेरसम्म भेला भएका थिए ।

जवकि लामिछानेलाई पक्राउ पुर्जी भने जारी भइसकेको छैन । लामिछानेले पार्टी कार्यालयबाट कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै आफूलाई पक्राउ पुर्जी जारी नभए पनि सरकारको विश्वास गर्न नसकेको बताएका थिए ।

साथै सम्बोधनको क्रममा सभापति लामिछानेले आफू सहकारी पीडितहरुको आन्दोलनको नेतृत्व गर्न तयार रहेको पनि घोषणा गरेका थिए ।

सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई संसदीय विशेष छानबिन समितिले कारबाही सिफारिस गरे पनि रास्वपाले भने लामिछानेले क्लिनचिट पाएको जिकिर गर्दै आएको छ । लामिछानेका साझेदार छवीलाल जोशीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।


क्लिकमान्डु