रविका साझेदार छविलाई बुध्द एयरबाट पोखरा लगियो




काठमाडौं । रवि लामिछानेका गोरखा मिडियाका साझेदार छविलाल जोशीलाई बुध्द एयरको जहाजमार्फत पोखरा लगिएको छ ।

नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका जोशीलाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो ।

कास्की प्रहरीको पत्रका आधारमा उनलाई पक्राउ गरेर उनलाई कास्की प्रहरीमा पठाउने तयारी गरिएको छ । सहकारीको ६५ करोड बचत रकम गोरखा मिडियामार्फत् अपचलन गतिविधिमा जोशी संलग्न रहेको संसदीय विशेष छानबिन समितिको प्रतिबेदनमा उल्लेख छ ।

सहकारी ठगी प्रकरणमा संसदीय विशेष छानबिन समितिले जोशीलाई समेत दोषी औल्याउँदै कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो । उनीले सहकारीको करोडौं रकम दुरुपयोग गरेको समितिको प्रतिवेदनमा उल्लेख छ । आइतबार नै गृहमन्त्री रमेश लेखकले सहकारीबारे छानबिन समितिले प्रस्तुत गरेको प्रतिवेदन कार्यान्यवन गर्न निर्देशन दिएका थिए ।

सहकारीको बचत रकम अपचलनमा छानबिन समितिले जोशीसहित गोरखा मिडियाका तत्कालीन अध्यक्ष जीबी राई र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पनि कारबाही सिफारिस गरेको थियो । गोरखा मिडियामा सहकारीको बचत रकम प्रवाह गर्ने काममा संलग्न रहेका कुमार रम्तेल भने पक्राउ परिसकेका छन् । जीबी राई भने फरार रहेका छन् ।


क्लिकमान्डु