ग्यालेक्सी टिभीमा रविसँगै काम गरेकाको कब्जामा रास्वपा !



काठमाडौं । गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रहेका रवि लामिछानले २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी खोल्ने घोषणा गरे । प्रतिनिधि सभाको निर्वाचन आउनु ६ महिनाअघि पार्टीको घोषणा गरेका लामिछानेले आफू निकट रहेकाहरुलाई पार्टीमा केन्द्रीय भूमिका दिएका थिए ।

सार्वजनिक रुपमा चर्चामा रहेका र सञ्चारकर्मीका रुपमा राम्रो छवि बनाएका उनको पक्षमा राम्रो माहोल बनेको थियो र पार्टी खोलेको ६ महिनाभित्रै सकिएको चुनावमा उनको दल संसदको चौथो ठूलो दल बन्न सक्यो ।

राजनीतिमा प्रवेश गरेसँगै पासपोर्ट प्रकारणमा फसेका लामिछाने त्यसपछि सहकारी ठगी प्रकरणमा मुछिए ।

उनले पार्टी खोल्दा गोरखा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी फोर के टीभीमा काम गर्दा सहकर्मीको बाहुल्यता देखिएको छ ।

जीबी राई कार्यकारी अध्यक्ष रहेको टेलिभिजनमा काम गर्नेहरुको समूह अहिले पनि लामिछाने नेतृत्वको रास्वपाको मुख्य भूमिकामा रहेका छन् । ति मध्ये कतिपय सहकारी ठगी प्रकरणमा समेत मुछिएका छन् ।

गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक र प्रबन्ध निर्देशकसहित ७ जना रास्वपाको केन्द्रीय समितिमा रहेका छन् जसमध्ये ५ जना पदाधिकारी छन् ।

गोर्खा मिडियाका पूर्वसञ्चालक र प्रबन्ध निर्देशक लामिछाने पार्टी सभापति हुँदा ग्यालेक्सी टीभीका क्रिएटिभ एडिटर विपिन आचार्य रास्वपाका सहमहामन्त्री छन् । न्युज २४ देखि नै रविका विश्वासपात्र रहेका दीपक बोहोरा ग्यालेक्सी हुँदै रास्वपाका नेता बनेका छन् । उनी पार्टीमा सहकोषाध्यक्ष छन् ।

सहप्रवक्ताद्वय प्रतिभा रावल र रमेश प्रसाईं ग्यालेक्सीमा रवि लामिछानेसँगे थिए । केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल र विनिता कठायत बनेका उनीहरु पनि टीभीमा लामिछानेका सहकर्मी थिए । कठायतलाई रास्वपाले समानुपातिक सांसद बनाएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उनीहरूले ०७७/७८ र २०७८/०७९ मा बुझेको तलब उल्लेख गरिएको छ । जसअनुसार लामिछानेले एक करोडभन्दा बढी तलब लिएको खुलेको छ । ग्यालेक्सी टेलिभिजनका सम्पादक रहेका प्रमोद न्यौपाने र प्रस्तोता नवराज पाण्डे पनि लामिछानेसँग छन् ।

न्यौपाने सभापति लामिछानेको सचिवालयमा छन् भने पाण्डे लामिछाने पहिलो पटक गृहमन्त्री बन्दा प्रेस सल्लाहकार बनेका थिए।

सहकारी ठगी छानबिनका लागि गठन भएको संसदीय समितिले गोरखा मिडिया नेटवर्कमा कार्यरतहरुले लिएको तलब पनि सार्वजनिक गरेको छ ।

लामिछानेले ग्यालेक्सी टीभीमा काम गर्दा १ करोड ४ लाख, विपिन आचार्यले साढे ५३ लाख, दीपक बोहोराले १६ लाख, रमेश प्रसाईंले साढे १९ लाख, प्रतिभा रावलले सवा ७ लाख, क्रान्तिशिखा धितालले सवा ९ लाख, विनिता कठायतले सवार ४ लाख रुपैयाँ तलब भत्ताबापत लिएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समितिले गोर्खा मिडियामा प्रवाह भएको ६५ करोड सबै सहकारीबाट नै आएको उल्लेख गर्दै रवि लामिछाने लगायतमाथि कारबाहीको सिफारिस गरेको छ ।

हाल टेलिभिजनका अध्यक्ष राई फरार रहेका छन् भने ग्यालेक्सी बन्द अवस्थामा रहेको छ ।


क्लिकमान्डु