५० करोड लागतमा युकेको लुम्बिक्रेन्ट भिडोल नेपालमै उत्पादन सुरु



काठमाडौं । धनुषाको मिथिला नगरपालिका-३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ भएको छ । मंगलबार एक कार्यक्रमका बीच मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भिडोल इन्टरनेसनल, युकेका डाइरेक्टर अरिजित वासुले सो उद्योग समुद्घाटन गरेका छन् ।

सो अवसरमा मुख्यमन्त्री सिंहले दैनिक रुपमा बढ्दो प्रविधि र प्रयोगसँगै अटोमोबाइल इन्ड्रस्ट्रीको दायरा समेत बढ्दै गएकोमा लुब्रिकेन्ट जस्तो अत्यावश्यकीय वस्तुको उत्पादन नेपालमै सुरु हुनु ठूलो सफलता रहेको बताए । लुब्रिकेन्ट उत्पादनसँगै नेपालमा रोजगारी सिर्जना र आर्थिक उत्पादनमा कम्पनीले ठूलो सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरे ।

भिडोल इन्टरनेसनल, युकेका निर्देशक अरिजित वासुले नेपालमा लुब्रिकेन्ट बजारमा निकै प्रतिस्पर्धा भए पनि गुणस्तरीय उत्पादन भए पछि सबैको रोजाइमा पर्ने र रोजगारी समेत सिर्जना हुने बताए । उनले यो स्तरको प्लान्ट बनाएर लुब्रिकेन्ट उत्पादन गर्नु नेपालको लागि गौरवको विषय समेत भएको बताए ।

युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले करिव ५० करोडको लागतमा निर्माण भएको उद्योगबाट उत्पादन हुने लुब्रिकेन्ट, ग्रिज र अन्य उत्पादन विदेशबाट आयात गरेको भन्दा केही कम मूल्यमै उपलब्ध हुने बताए ।

१ लाख ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो उद्योगमा २० लाख लिटर क्षमताको स्टोरेज रहेको छ । यहाँ मासिक रुपमा प्रतिसिफ्ट १ लाख लिटर लुब्रिकेटिङ आयल उत्पादन गर्न सकिन्छ ।

उद्योगले आवश्यक कच्चा पदार्थ भारतबाट आयात गर्छ र तयारी लुब्रिकेन्ट नेपाली बजारमा बिक्री गर्छ। कारखानाले दुई लाख लिटर लुब्रिकेन्ट स्टोरेज ट्यांक बनाएको छ।

हाल सो उद्योगमा युकेको प्रतिष्ठित लुब्रिकेन्ट ब्रान्ड भिडोलको उत्पादन समेत सुरु भएको छ । यो भन्दा पहिले नेपाली ब्रान्ड ‘नेपाल गोल्ड’ लुब्रिकेन्ट समेत यहाँबाट उत्पादन भइरहेको छ ।


क्लिकमान्डु