सञ्चार उपकरणमार्फत ‘युद्धको नयाँ युग’: ड्रोनपछि पेजर र वाकिटकी आक्रमण !



युद्धको ‘नयाँ युग’ सुरु गर्ने घोषणा गरेको इजरायलले लेबनानमा धमाधम पेजर र वाकिटकी विस्फोट गराउन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पेजर आक्रमणमा मारिएकाहरुको अन्तिम संस्कारमा जाँदैगरेका मलामीहरुको वाकिटकीमा नै अर्को आक्रमण भयो । यसबीचमा दर्जनौं मानिस मारिनुका साथै सयौं घाइते भए ।

एजेन्सी । लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दै इजरायलले गरेको आक्रमणको स्वरुप फेरिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । केही साताअघिसम्म लगातार रुपमा ड्रोन आक्रमण गरिरहेको इजरायली सेनाले अब हिजबुल्लाहले बोक्ने पेजर र वाकिटकीमा पनि आक्रमण गर्न थालेको समाचारहरुमा जनाइएको छ ।

पेजर आक्रमण गर्दा १२ जना मारिए भने त्यसलगत्तै वाकिटकीमा आक्रमण गर्दा कम्तीमा २० जना मारिएका छन् भने ४ सय ५० जना घाइते भएका छन् । इजरायली सेनाले पेजर आक्रमण गरेको भोलिपल्टै वाकिटकीमा आक्रमण गर्न थालेको समाचारहरुमा जनाइएको छ । यस क्रममा महिला र बालबालिकाहरुको पनि ज्यान गएको छ ।

यसलाई लिएर अन्तर्राष्ट्रिय समुदायले पनि चिन्ता गरेका छन् । इजरायलको यस्तो पेजर र वाकिटकी आक्रमणलाई ‘युद्धको नयाँ युग’को रुपमा पनि अर्थ्याइएको छ । यद्यपि इजरायलले यी विस्फोटबारे कुनै प्रतिक्रिया दिएको छैन । तर इजरायलका रक्षामन्त्रीले यसअघि लेबननमा आक्रमणको क्रममा युद्धको ‘नयाँ युग’ सुरु भएको प्रतिक्रिया दिएका थिए ।

सीएनएनमा प्रकाशित समाचार अनुसार इजरायलले लेबनानमा आक्रमणको योजनाबारे उसले अमेरिकालाई जानकारी दिएको थियो । तर यसबारे विवरण सार्वजनिक गरेको छैन । लेबनानमा सेप्टेम्बर १८ मा वाकिटकीमा भएको विस्फोटबाट २० जना मारिएका छन् ।

जवकि लेबनानमा लगभग सबै हिजबुल्लाहका कार्यकर्ताहरु वाकिटकी प्रयोग गर्छन् । जुन स्थानमा वाकिटकी विस्फोट भयो उक्त क्षेत्र हिजबुल्लाहको प्रभाव क्षेत्रको रुपमा चिनिन्छ । बेरुत, बेका वाली, दक्षिणी लेबनानका स्थानहरुमा वाकिटकी विस्फोट गरिएको हो ।

तर एक दिनअघि सेप्टेम्बर १७ मा पेजर विस्फोट गराइएको थियो । जसमा १२ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए । पेजर आक्रमणमा मारिएकाहरुको अन्तिम संस्कारमा जाने क्रममा नै वाकिटकी विस्फोट भएको बताइएको छ । यी आक्रमणहरुमा हिजबुल्लाहले मुख्य रुपमा इजरायललाई नै जिम्मेवार ठहर्‍याएको छ । इजरायलले भने कुनै प्रतिक्रिया दिएको छैन ।

यसअघि दुबै देशबाट तीब्र रुपमा ड्रोन आक्रमण हुने गेका थिए । ड्रोन आक्रमणबाट इजरायललाई पनि ठूलो क्षति पुगेको थियो । तर इजरायलले बदलाको रुपमा अचानक पेजर र वाकिटकी विस्फोट गराउन थालेको हो ।

इजरायल र लेबनानबीच युद्धमा दसौं हजारको ज्यान गइसकेको छ । अन्तर्राष्ट्रिय समुदायको आग्रह र दबाबका बीच पनि युद्ध रोकिएको छैन । यसलाई लिएर अमेरिकामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा पनि कडा बहस भएको छ ।


क्लिकमान्डु