ओपन एआई अब गैरनाफामुखी बन्दै



एजेन्सी । छोटो समयमै विश्वभर लोकप्रिय बनेको च्याट जिपीटी निर्माता कम्पनी ओपन एआई अब गैरनाफामुखी बन्ने तयारीमा छ । विज्ञहरुका अनुसार यसले अब आफ्नो कर्पोरेट संरचना बढाउँदै लाभ सीमा हटाउन सक्ने बताइएको छ ।

गैरनाफामुखी कम्पनीको रुपमा सुरु भएको यो कम्पनी पछिल्लो समय ६ अर्ब ५० करोड डलर लगानीसहित नाफामुखी कम्पनीको रुपमा सक्रिय रहँदै आएको थियो । तर पछिल्लो समय नाफामा केन्द्रित रहेको भन्दै एलन मस्कले कम्पनीका सीईओ साम अल्टम्यानविरद्ध गत वर्ष मुद्दा पनि दायर गरेका थिए ।

र गैरनाफामुखी बनाउने प्रक्रियालाई आगामी दुई साताभित्र अन्तिम रुप दिइने स्रोतहरुले बताएका छन् । यससँगै ओपन एआईका लागि लगानीको पनि माग भइरहेको बताइएको छ ।

यसैबीच माइक्रोसफ्टसँगै थ्राइभ क्यापिटल र खोस्ला भेन्चर पनि लगानीकर्ताको रुपमा रहने अपेक्षा गरिएको छ । यस्तै रुपमा न्भिदा, एप्पलसहित नयाँ लगानीकर्ताहरु पनि समावेश हुने बताइएको छ । साथै सिक्विया क्यापिटल पनि फेरि लगानीकर्ताको रुपमा आउने विषयमा छलफल भइरहेको बताइएको छ ।

तर कम्पनीको पुनर्संरचना असफल भएको खण्डमा ओपन एआईले आफ्ना लगानीकर्ताहरुसँग फेरि भ्यालुएसन गर्नुपर्नेछ । जसमा उनीहरुको सेयर सम्भवत: कम मूल्यमा रुपान्तरण हुनेछ ।

यसबारे ओपन एआईले भने आफ्नो गैरनाफामुखी बोर्डसँग काम गर्दा सबैलाई फाइदा हुने जनाएको छ । विज्ञप्ति जारी गर्दै ओपन एआईले गैरनाफामुखी बोर्डसँग काम गर्दा सबैलाई फाइदा पुग्ने गरी एआई निर्माणमा ध्यान केन्द्रित गरिरहेको उल्लेख गरेको छ ।

कम्पनीका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गैरनाफा हाम्रो मुख्य लक्ष्य हो । र यही लक्ष्य कायम रहिरहनेछ ।’ यद्यपि कम्पनीको नाफामुखी संरचना हटाउनका लागि ओपन एआईको गैरनाफामुखी बोर्डबाट अनुमोदन गर्नुपर्ने हुन्छ । जसमा सीईओ साम अल्टम्यान, उद्यमी ब्रेट टेलरसहित अरु सात जना सदस्य रहने छन् । यस्तै कम्पनीले गैरनाफामुखी संरचनामा लैजानका लागि सम्बन्धित वकिलहरुसँग छलफल र परामर्श गरिरहेको छ ।


क्लिकमान्डु