रविको टिप्पणी: गोर्खा मिडियामा प्रशासन चलाउन चेक नकाटेर एमडीले घाँस काट्ने कुरा त आउँदैन नि ! (भिडियो)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेले सहकारीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेन आफूले पढ्न नपाएको र सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरागर्दै लामिछानेले सहकारी समस्या समाधानमा जानुपर्ने बताए । सोमबार नै सहकारी छानबिन विशेष समितिले संसदमा छानबिन प्रतिवेदन पेस गरेपछि लामिछानेले कानुन बमोजिम कमजोरी भए सजाय भोग्न तयार रहेको बताए ।

सहकारीहरुबाट गएको पैसा त्यसले चलाएको त हो भन्ने गरि भाष्य बनाउन खोजिएको उनको दुखेसो छ । पैसा आइसकेपछि आन्तरिक प्रशासन चलाउन चेक नकाटेर घाँस काट्ने कुरा नहुने चेक नै काट्नु पर्ने बताए ।

‘अझै पनि भास्य निर्माण गर्न त्यहाँबाट गएको पैसा त्यसले चलाएको त हो नि भनेर भनिएको छ,’ लामिछानेले भने, ‘आएको पैसा त्यहाँ आन्तरिक प्रशासन चलाउन चेक नकाटेर एमडीले के घाँस काट्ने कुरा त आउँदैन नि त। चेक नै काट्ने होला नि!’

आफूमाथि लागेको लाञ्छानालाई छानबिन समितिले प्रष्ट बनाएको उनको भनाइ छ । लामिछानेले कानुनविपरित गडबड गरेको भए सजायको भागीदार हुन आफू तयार रहेको बताए ।

‘जुन विषयमा मलाई लाञ्छना लागेको थियो त्यो समितिले प्रष्ट बनाएको छ । प्रचलित कानुनअनुसार कतै गडबड गरेको भए सजायको भागीदार हुनुपर्छ । गोर्खा मिडिया सञ्चालनका क्रममा मबाट गलत भएको रहेछ भने, कसैले ल्याएको पैसा सञ्चालन गर्ने क्रममा कमजोरी भएका रहेछन् भने भागीदार हुनुपर्छ, त्यसकारण हामीले सहमति गरेर प्रतिवेदनमा हस्ताक्षर गर्‍यौं,’ उनले भने ।


क्लिकमान्डु