विकासे मन्त्रालयका सचिव डाकेर अर्थमन्त्रीले भनेः बहुवर्षीय ठेक्काको स्रोत सहमति विवरण तुरून्तै दिनू
काठमाडौं । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई ताकेता गरेको छ ।
अर्थ मन्त्रालयमा विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरुसँग बैठक गरी अर्थ मन्त्रालयले स्रोत सुनिश्चत भएका र स्रोत सुनिश्चित नभएका बहुवर्षीय ठेक्का दायित्वको एकीन विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
त्यसैगरी अर्थ मन्त्रालयले भुक्तानी गर्नुपर्ने दायित्वको विवरण उपलब्ध गराउन पनि निर्देशन दिएको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बहुवर्षीय ठेक्का र भुक्तानी दिन बाँकी दायित्वमा समस्या देखिएकाले एकीन विवरण प्राप्त भएपछि उपयुक्त निर्णय गर्ने बताए ।
विषयगत मन्त्रालयले अर्थको सहमति बिनै ठेक्का लगाएपछि अर्थलाई भुक्तानीको टुंगो लगाउन मुस्किल परेको छ । यसले सरकारलाई चालु आवको बजेटमा कार्यक्रम नपरेका कामको भुक्तानी दिन समस्या छ । अर्थले सोहीकारण बहुवर्षीय ठेक्काको सहमति विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।