एकध्रुवीय प्रभुत्व कायम राख्न अमेरिकाको प्रयास, चर्किँदै भूराजनीतिक तनाव



युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीको आग्रह मान्दै अमेरिकाले युक्रेनलाई रुसी भूमिको भित्री भागमा आक्रमण गर्न अनुमति दिन खोजेको भए पनि तत्कालका लागि त्यसलाई स्थगित गरेको छ ।

यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी भूमिमा युक्रेनले पश्चिमी हतियारका साथ आक्रमण गरेमा रुस र नेटोबीच प्रत्यक्ष युद्ध हुने चेतावनी दिएका थिए । युक्रेनले प्रहार गर्न खोजेका लामो दूरीका हतियारहरू (विशेषगरी अमेरिकामा बनेको आर्मी ट्याक्टिकल मिसायल्स सिस्टम्सका साथै फ्रान्स र बेलायतको संयुक्त लगानीमा बनाइएको स्टोर्म श्याडो क्षेप्यास्त्र) खासमा तिनै मुलुकका प्रशिक्षणप्राप्त सैनिकहरूले नै चलाउने हुन् किनकि युक्रेनी सैनिकहरूले त्यसको तालिम पाएकै छैनन् । यसरी पश्चिमी सैनिकहरू स्वयं रुसविरुद्धको युद्धमा संलग्न हुँदा रुसले पश्चिमी मुलुकहरूमा आक्रमण गर्ने बाटो खुलेको पुटिनको आशय छ । 

बाइडन प्रशासनले पुटिनको यो चेतावनीलाई गफ (रेटोरिक) मात्र भने पनि रुसको अत्याधुनिक हतियार नेटो साझेदार मुलुकविरुद्ध प्रहार भएमा त्यसले पुर्‍याउने क्षति विशाल हुनेछ भन्ने कुरा बुझेको छ । त्यसैले तत्कालका लागि युक्रेनलाई रुसविरुद्ध हतियार प्रहार गर्न रोकेको भए पनि अमेरिकाले नियन्त्रणको यो नीतिलाई भविष्यमा पुनरवलोकन गर्न सकिने सम्भावनालाई नकारेको चाहिँ छैन ।

बाइडन प्रशासनमा दुई खेमाबीच यस विषयमा मतभिन्नता देखिन्छ । एन्टोनी ब्लिन्केन रुसविरुद्ध लामो दूरीको हतियार प्रहार गर्नुपर्ने पक्षमा छन् भने लोयड अस्टिनले लामो दूरीको हतियारबाट युद्धको दिशा नबदलिने भनी त्यसलाई महत्त्वहीन बनाएका छन् । तत्कालका लागि पेन्टागन हावी भएको देखिन्छ ।

पश्चिमाहरू यो पुटिनको कोरा धम्की हो भनेर आफ्नो चित्त बुझाइरहेको भए पनि युक्रेनको गैरजिम्मेवार कदमलाई पश्चिमले साथ दिइरहने हो भने रुसका तर्फबाट आणविक हतियार प्रहार हुने सम्भावनालाई नकार्न सकिन्न ।

युक्रेनले युद्धभूमिमा एकपछि अर्को पराजय बेहोरिरहेको सन्दर्भमा अमेरिकाको परराष्ट्र मन्त्रालयले रुसविरुद्ध आक्रमणको योजना अघि सारेको हो ।

युक्रेनी सैनिकले गरेको कुर्स्क आक्रमण विफल भई ठूलो संख्यामा सैनिक हताहती तथा सैन्य उपकरण नष्ट भएको छ । त्यसले रुसलाई डोनबास क्षेत्रमा भइरहेको लडाइँबाट पछि हट्न बाध्य बनाउन सकेन तर रुसीहरू त्यहाँ निरन्तर नयाँ भूमिमा नियन्त्रण कायम गरिरहेका छन् । यस्तो अवस्थामा रुसको भित्री भागमा आक्रमणको अनुमति दिएर पुटिनको मानमर्दन गर्ने अनि त्यसैलाई भजाएर आउँदो राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई जिताउन सहयोग गर्ने दाउ ब्लिन्केनले खेलेका हुन सक्छन् ।

तत्कालका लागि यो दाउ असफल भए पनि अमेरिकीहरूले युद्ध चर्काउनका लागि कोशिश गरिरहने देखिन्छ । विनाशकारी आणविक युद्धको सम्भावनालाई पनि अमेरिकीहरूले जीवितै राखेका छन् ।

अघिल्लो साता अमेरिकामा भएको राष्ट्रपतीय बहसमा डोनल्ड ट्रम्पले युक्रेनमा तेस्रो विश्वयुद्ध र आणविक युद्ध शुरू हुन सक्ने जोखिम रहेको चेतावनी दिएका थिए । हुन पनि रुससँग संसारमा सबभन्दा धेरै आणविक हतियारहरू छन् र पुटिनले युक्रेन युद्ध शुरू भएदेखि नै आणविक हतियारलाई तयारी अवस्थामा राख्न आफ्ना स्ट्राटेजिक फोर्सहरूलाई निर्देशन दिइरहेका छन्।

पश्चिमाहरू यो पुटिनको कोरा धम्की हो भनेर आफ्नो चित्त बुझाइरहेको भए पनि युक्रेनको गैरजिम्मेवार कदमलाई पश्चिमले साथ दिइरहने हो भने रुसका तर्फबाट आणविक हतियार प्रहार हुने सम्भावनालाई नकार्न सकिन्न ।

प्रश्न उठ्छ, संसारै विनाश गर्ने आणविक हतियारको उपयोगको स्थितिमा रुसलाई धकेल्ने काम अमेरिकाले किन गर्दैछ ? अमेरिकाको द्रुत गतिमा भइरहेको पतन र उसप्रतिको सम्मान र उससँगको डर संसारभरि हराउँदै गएको स्थितिमा त्यसको उत्तर खोज्न सकिन्छ ।

रुसको भित्री भागमा आक्रमणका लागि युक्रेनलाई अमेरिकाले अनुमति दिन खोजेको बदलामा रुसले यमनका हूती लडाकूहरूलाई अमेरिकी र बेलायती युद्धपोतहरूमा आक्रमणका लागि जहाजनिरोधी क्षेप्यास्त्र दिन विचार गरिरहेको छ । विश्व व्यापारको केन्द्रका रूपमा रहेको अदनको खाडी र लाल सागरमा हूतीहरूले आक्रमण गरेको खण्डमा संसारको अर्थतन्त्र नै डामाडोल हुनेछ ।

नेटोलाई आक्रामक रूपमा विस्तार गरेर रुसलाई युक्रेनमाथि आक्रमण गर्न बाध्य बनाएको अमेरिकाले रुसमाथि कठोर आर्थिक प्रतिबन्ध लगाएर सत्तापरिवर्तन गराउने अनि आफूअनुकूलको व्यक्ति ल्याउने सोच बनाएको थियो । त्यसपछि चीनलाई घुँडा टेकाउन सकिने उसले कल्पना गरेको थियो । यसो हुँदा आफ्नो एकध्रुवीय प्रभुत्व लामो समयसम्म कायम रहने उसको आशा थियो ।

तर रुसले युद्धभूमिमा लगातार सफलता पाउँदै गएपछि र आर्थिक प्रतिबन्धलाई पनि दृढतापूर्वक सामना गरेपछि अमेरिकाको दाउ खेर गयो । अझ, त्यसमाथि रुसले प्रचुर प्राकृतिक स्रोत तथा विशाल युवा जनसंख्या भएको अफ्रिकासँग सम्पर्क विस्तार गरी कूटनीतिक समर्थन हासिल गरेको छ र साहेल क्षेत्रबाट अमेरिका र फ्रान्सलाई विस्थापित गर्न सफलता पाएको छ । त्यस क्षेत्रमा रुसको बढ्दो सैन्य उपस्थितिले भूमध्यसागरपारिका युरोपेली मुलुकहरू समेत जोखिममा परेका छन् । अफ्रिकाबाहेक एसिया र दक्षिण अमेरिकामा समेत रुसको कूटनीतिक सम्बन्ध विस्तार भइरहेको छ ।

अनि रुसको भित्री भागमा आक्रमणका लागि युक्रेनलाई अमेरिकाले अनुमति दिन खोजेको बदलामा रुसले यमनका हूती लडाकूहरूलाई अमेरिकी र बेलायती युद्धपोतहरूमा आक्रमणका लागि जहाजनिरोधी क्षेप्यास्त्र दिन विचार गरिरहेको छ । विश्व व्यापारको केन्द्रका रूपमा रहेको अदनको खाडी र लाल सागरमा हूतीहरूले आक्रमण गरेको खण्डमा संसारको अर्थतन्त्र नै डामाडोल हुनेछ ।

यसैबीच इजरायल र हमासबीचको युद्ध चर्किरहेको बेलामा इजरायललाई इरानको आक्रमणबाट जोगाउने उद्देश्यले अमेरिकाले आफ्ना दुईवटा विमानवाहक युद्धपोतहरू पूर्वी भूमध्यसागरमा तैनाथ गरेको छ (तीमध्ये एउटा घर फर्केको छ) । त्यसले गर्दा विगत दुई दशकमा पहिलोपटक अमेरिकी जलसेनाले इन्डो पसिफिक क्षेत्रमा विमानवाहक युद्धपोत तैनाथ गर्न पाएको छैन ।

यस स्थितिले चीनको सैन्य आत्मविश्वास थप बढाएको छ । चीनले दक्षिण चीन सागरमा व्यापक रूपमा सैन्य हवाईअड्डाहरू बनाएर उक्त क्षेत्रमा आफ्नो फौजी पकड बलियो बनाइसकेको छ । उसले कम्बोडियाको जलसैन्य अड्डामा पहुँच बनाएर इन्डोनेसिया, सिंगापुर र मलेसिया वरिपरिको क्षेत्रमा शक्ति प्रदर्शन गर्ने क्षमतालाई बढाउन खोजेको रिपोर्टहरू पाइन्छन् । त्यस स्थितिमा अमेरिकाले भविष्यमा इन्डो पसिफिक क्षेत्रमा आवागमनको सुविधा समेत गुमाउन सक्छ ।

यसरी आफूले शत्रु ठानेका मुलुकहरूसँग वार्ता र संवादको माध्यमले समस्या समाधान गर्ने भन्दा पनि आफ्नो सैन्यशक्ति बढाएर जसरी भए पनि प्रभुत्व कायम गरिरहने अमेरिकाको सोचका कारण अहिले संसारभरि भूराजनीतिक तनाव चर्किएको हो । युक्रेन युद्ध साढे दुई वर्षसम्म भएर लाखौं मानिसको ज्यान जानुमा त्यही प्रभुत्ववादी सोचको हात छ । रुसलाई विश्व मञ्चबाट एक्ल्याउन र युक्रेनको पक्षमा समग्र दक्षिणलाई गोलबद्ध गराउन नसकिएपछि आक्रोशित अमेरिकाले रुसको सरकारी सञ्चारमाध्यम आरटीमाथि प्रतिबन्धको घोषणा गरेको छ । यसबाट अमेरिकाले विश्वव्यापी भाष्य खडा गर्ने आफ्नो सफ्ट पावर समेत गुमाइसकेको तथ्य प्रमाणित भएको छ ।

चीन, रुस र इरानका विरुद्ध अमेरिकाले आर्थिक प्रतिबन्ध लगायतका सबै उपाय अपनाइसकेको भए पनि उनीहरूलाई झुकाउन सकेको छैन । त्यसैले आफ्नो एकल प्रभुत्व कायम राख्नका लागि अमेरिकीहरू आणविक युद्धको हदसम्म पनि जान तयार देखिन्छन् ।


विन्देश दहाल

दहाल अन्तर्राष्ट्रिय अर्थराजनीति बारे कलम चलाउँछन् ।