१ खर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बोलकबोल विधिबाट १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

आइतबार राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै २१ दिनका लागी १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको जानकारी दिएको हो । 

निक्षेपबापत राष्ट्र बैंकमा जम्मा गर्न लागेको रकम र ब्याजदरमा विषयमा बोलकबोल विधिबाट प्रस्ताव पेस गर्न क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले आह्वान गरेको छ । 

अन्तर बैंक ब्याजदरलाई ३ प्रतिशतको सीमा राख्नुको साथै बैंकमा अधिक तरलता भएर हुन सक्ने अन्धाधुन्ध कर्जा लगानीलाई रोक्न राष्ट्र बैंकले ३ प्रतिशतसम्म ब्याज दिँदै निक्षेप संकलन गर्न लागेको हो । चालू आर्थिक वर्षमा राष्ट्र बैंकले ब्याजदर करिडोर सम्बन्धी नीतिलाई नियमित रुपमा कार्यान्वन गराउने प्रयास गर्दै आएको छ ।

ब्याजदर करिडोरको सिद्धान्त अनुसार अन्तर बैंक ब्याजदर बैंक दर भन्दा माथी पुगेको अवस्थामा राष्ट्र बैंकले नीतिगत दरमा रिपो जारी गर्ने तथा अन्तर बैंक ब्याजदर निक्षेप संकलन दर भन्दा कम भएको अवस्थामा राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्छ ।

आइतबार ३ बजेसम्म प्रस्ताव पेस गर्ने बैंकबाट राष्ट्र बैंकले निक्षेप संकलन गर्ने जनाएको छ । 


क्लिकमान्डु