क्रिप्टो कारोबारमा संलग्न तीन विदेशीसहित ५० जना पक्राउ



काठमाडौं । क्रिप्टो कारोबारमा संलग्न तीन विदेशीसहित ५० जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१३ एकान्तकुना, एकतावस्ती स्थित जगदिश उपाध्यायको तीन तले घर भाडामा लिई कल सेन्टर संचालन गरी नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैरकानुनी रुपमा काममा लगाएको पाइएको छ ।

ब्यूरोले बिहीबार उक्त स्थानबाट तीन जना विदेशी नागरिकहरु सहित ५० जनालाई कल सेन्टरमा प्रयोग गरिएका कम्प्यूटर, मोबाईल लगायतका ईलेक्ट्रोनिक्स उपकरणहरु सहित पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा कल सेन्टरबाट डेटिङ एपहरुमा बिदेशी महिलाको फोटो प्रोफाइल पिक्चरको रुपमा प्रयोग गरी युरोप, अमेरिका र क्यानडा लगायतका विभिन्न देशहरुका पुरुष ब्यक्तिहरुलाई साथी बनाई घनिष्ट मित्रता कायम गरी ठगी गरेको पाइएको छ ।

अनलाइन प्लेटफर्म मार्फत ट्रस्ट वालेट लगायतका बिभिन्न डिजिटल वालेटहरुमा अमेरिकी डलर जम्मा गरि त्यस मार्फत गैरकानुनी अभौतिक मुद्रामा लगानी गरेको पाइएको छ ।

पक्राउ परेका विदेशी नागरिक सहितका नेपाली व्यक्तिहरु केही समय अगाडी संयुक्त अरब ईमिरेट्समा सोही प्रकृतिको कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परी सम्बन्धित देशहरुमा फिर्ता भएका थिए । पुनस् नेपालमा एकतृत भई कल सेन्टर खोली अभौतिक मुद्रा को कारोबार गरेको पाइएको छ ।

प्रारम्भिक अनुसन्धान पश्चात घटनामा संलग्न मुख्य ३ विदेशी र ५ नेपाली नागरिक उपर “मुलुकी अपराध संहिता, २०७४ संशोधन सहित परिच्छेद ७ (क) दफा २६२ (क) ‘अभौतिक मुद्राको प्रयोग गर्न नहुने’ सम्बन्धि कसुर अन्तर्गत मुद्धा दर्ता भएको छ ।

ललितपुर जिल्ला अदालतबाट दिन १० को म्याद थप भई अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । पक्राउ गरिएका अन्य ४२ जना व्यक्तिहरु हाजिर जमानीमा राखी अनुसन्धान भइरहेको जनाइएको छ ।

पक्राउ पर्नेमा दुई जना चिनियाँ नागरिक, एक जना फिलिपिनी नागरिक र ५ जना नेपाली रहेका छन् ।

यसका सन्चालक चिनियाँ नागरिकद्वय तिङ च्याउङ र लिङ छियानचिङ रहेका छन् । नेपाली नागरिकमा ग्रुप लिडर कमल कंडेल, संदिप आचार्य, सुजन प्रधान, बिजय बहादुर गिरी रहेका र सुदिप अधिकारी छन् ।

उनीहरुको साथबाट ५५ थान कम्प्युटर, १९४ थान मोबाइल र ४ थान ल्यापटप बरामद भएको ब्यूरोले जनाएको छ ।


क्लिकमान्डु