सहकारी विभागमा पुग्यो संसदीय छानबिन समिति, दर्जन सहकारीमा अनुगमन



काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति आज तीन वटा सहकारी नियकासहित उपत्यकाका विभिन्न एक दर्जन सहकारीको अनुगमन गरेको छ ।

समितिले आज सहकारी विभाग, सहकारी प्रशिक्षण केन्द्र र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका साथै एक दर्जन सहकारीको अनुगमन निरीक्षण गरेको हो ।

समितिले आज कुलेश्वरमा रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी, ललितपुरको महालक्ष्मी स्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी, ललितपुरमा रहेको गुण बचत तथा ऋण सहकारी, पुल्चोकमा रहेको श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी, सातदोबाटो चापागाँउमा रहेको गोरखा सेभिङ एण्ड क्रेडिट, भक्तपुरमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी, लोकन्थलीमा रहेको नागरिक विकास, पुल्चोक र कालिमाटीमा रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट, कालिमाटिमा रहेको स्वर्णलक्ष्मी, मिनभवमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी र नेपाल सहकारी वित्तीय संस्थाको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा सहकारी संस्था सञ्चालनमा रहे, नहरेको ? कारोबार गरिरहेका छन् की छैनन ? कार्यालयमा को–को आउँछन ? के काम गर्छन ? भन्ने विषय हेरेको समितिका सभापति थापाले बताए । सम्बन्धित सहकारीका आधिकारीक व्यक्तिलाई बोलाएर संस्थाको वित्तीय अवस्था लगायतका विषयमा यसअघि नै अध्ययन तथा छलफल भइसकेको र अहिले ति संस्थाहरुको अनुगमन गरेको सभापति थापाको भनाइ छ ।

आज समितिले अनुगमन गरेका संस्था मध्ये मितेरी बचत तथा ऋण सहकारी, पुल्चोकमा रहेको सुमेरु र गुण सहकारी सञ्चालनमा रहेको पाइएको थापाले क्लिकमाण्डुलाई बताए । समितिले आज ५९ औँ बैठक सकेलगत्तै ति सहकारीको अनुगमन निरीक्षणमा गरेको जानकारी दिए । निरीक्षणमा समितिका सदस्य, समितिका कर्मचारी लगायत रहेका छन् । समितिको कार्यविधिमा भएको व्यवस्था अनुसार नै निरीक्षण अनुगमन गरेको उनको भनाई छ ।


क्लिकमान्डु