अमेरिकी राष्ट्रपति चुनावमा टेलर स्विफ्टको समर्थन कमला ह्यारिसलाई



एजेन्सी । विश्वप्रसिद्ध अमेरिकी गायिका टेलर स्विफ्टले अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिसलाई समर्थन गर्ने जनाएकी छन् । मंगलबार डेमोक्रेट उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पबीच राष्ट्रपतिको बहसपछि स्विफ्टले कमला ह्यारिसका लागि समर्थन जनाएकी हुन् ।

स्विफ्टले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्बिर पोस्ट गर्दै आफूले किन कमला ह्यारिसलाई भोट गर्ने भन्ने विषयमा धारणा व्यक्त गरेकी छन् ।

वर्तमान सांगीतिक दुनियाँमा सबैभन्दा सफल र लोकप्रिय मानिएकी स्विफ्टले आगामी अमेरिकी चुनावमा कसलाई समर्थन गर्लिन् भन्दै केही महिनादेखि नै आकलन र विश्लेषण गरिएको थियो । जवकि उनले प्रेसिडेन्सियल डिबेटसम्म आफ्नो निजी विचार सार्वजनिक गरेकी थिइनन् । डिबेटमा कमला ह्यारिसले ट्रम्पलाई दबाब दिँदै प्रखर रुपमा प्रस्तुत भएपछि स्विफ्टले पनि आफ्नो विचार व्यक्त गरेकी हुन् ।

अमेरिकामा कुनै दलमा आबद्ध नरहेका स्वतन्त्र सेलिब्रिटीहरुले पनि राष्ट्रपति कसलाई चयन गर्न ठीक हुन्छ भनेर आफ्नो विचार व्यक्त गर्ने गर्छन् । जसले गर्दा उनीहरुका समर्थकहरु पनि प्रभावित हुने बताइन्छ । करोडौं समर्थक रहेकी टेलर स्विफ्ट छोटो समयमै गीत गाएरै डलर अर्बपति बनेकी सेलिब्रिटी हुन् ।

स्विफ्टले लेखेकी छन्, ‘एक मतदाताको रुपमा म उनीहरुका प्रस्तावित नीतिहरुबारे मैले सक्नेजति सबै कुराहरु हेर्न र पढ्न चाहन्छु ।’ तर गत अगस्टमा एआईको दुरुपयोग गर्दै स्विफ्टले डोनल्ड ट्रम्पलाई समर्थन गर्ने भन्दै प्रचार भएको थियो । डिप फेकको प्रयोग गर्दै स्विफ्टको समर्थन ट्रम्पलाई भन्दै यसअघि प्रचार गरिएको थियो । स्विफ्टले भने त्यस्ता गलत सूचना फैलाइएको विषयमा चिन्ता व्यक्त गरेकी थिइन् ।

तिनै गलत प्रचारलाई चिर्दै स्विफ्टले चुनावमा मतदानबारे आफ्नो विचार प्रस्ट पारेकी हुन् । यस क्रममा उनले आफ्ना समर्थक र प्रशंसकलाई पनि यसबारे प्रष्ट हुन आग्रह गरेकी छन् ।

स्विफ्टले कमला ह्यारिसको उपराष्ट्रपति छनोटको विषयमा पनि खुसी व्यक्त गरेकी छन् । जवकि कमला ह्यारिसले मिनेसोट्टाका गभर्नर टिम वाल्जलाई आफ्नो उपराष्ट्रपति उम्मेदवारको रुपमा चयन गरेकी छन् । वाल्ज भने महिला अधिकारको पक्षमा लामो समयदेखि वकालत गर्दै आएका छन् । रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले भने स्विफ्टको घोषणापछि उनी एक लिबरल पर्सन (उदार व्यक्ति) भएको टिप्पणी गरेका छन् ।

केही सर्वेक्षणहरुले सेलिब्रिटीहरुको समर्थनबाट आफ्नो मतदान प्रभावित नहुने भन्दै कतिपय मानिसहरुले बताउने गरे पनि हार्बर्ड विश्वविद्यालयको एक सर्वेक्षणले भने सेलिब्रिटी, गैरनाफामुखी लगायतका संघसंस्थाहरुको आह्वानबाट मतदाताको सहभागिता बढेको देखाएको थियो ।

उदाहरणका लागि २०२३ को सेप्टेम्बरमा मतदाता सूचीमा नाम दर्ता गर्नका लागि टेलर स्विफ्टले आह्वान गर्दा ३५ हजारभन्दा धेरै मतदाता दर्ता भएको थियो । यद्यपि उक्त दर्तामा कति जना स्विफ्टका प्रशंसक थिए भन्ने विषय चाहिँ प्रस्ट थिएन । तर स्विफ्टले सामाजिक सञ्जालमा पोस्ट गर्दै आह्वान गरेको एक घन्टाको अवधिमा भोट डट ओआरजीमा १ हजार २ सय २६ प्रतिशतका दरले मतदाता दर्ता भएको थियो ।

धेरैले यसलाई स्विफ्टको आह्वानको प्रभावको रुपमा व्याख्या गरेका थिए । यसअघि २०२० र २०२२ को निर्वाचनमा भ्लगर डेभिड डब्रिकको आह्वानले पनि यसै गरी प्रभाव पारेको बताइन्छ । अमेरिकामा प्राय: राष्ट्रपति निर्वाचनका लागि स्वतन्त्र मतदाता वा सेलिब्रिटीहरुले प्रेसिडेन्सियल डिबेट सुनेर मात्रै आफ्नो मत प्रकट गर्ने गरेका हुन्छन् ।


क्लिकमान्डु